Breaking

शक्तिको नवीकरण गर्ने पर्व दशैं, देवीकै पूजा किन, शरद्मै पर्नुको कारण


काठमाडौँ — परमपुरुष शिव र शिवकी शक्ति रूपा गौरी नै विभिन्न समयमा विभिन्न रूपले जन्म लिएर लोककल्याणका लागि विभिन्न लीलाहरू गरेको शास्त्रमा उल्लेख छ । उनै परमेश्वरी भगवती दुर्गाको उपासना गर्नका लागि शारदीय नवरात्र मनाउने गरिन्छ । सनातन सँस्कृतिमा दैवी शक्तिको रुपमा नारी शक्तिको उपासना श्रृष्टीको उषाकालदेखि नै शुरु भएको पाइन्छ । यो सारा संसारको श्रृष्टीकारीका म नै हूँ भन्ने स्वयं देवीको वचन रहेको छ । श्रृष्टीमा पनि आद्य श्रृष्टिकी कारण भएकी जगदम्बा जगत्की आमालाई वेदादि ग्रन्थमा ब्राह्मी, गायत्री, सावित्री आदिका नामले सम्बोधन गरेको देखिन्छ ।

वैदिककाल, उपनिषद्काल, पौराणिककाल हुँदै अविच्छिन्न रुपमा अगाडि बढिरहेको उपासना पद्धति पौराणिक कालमा आएर देवीभागवत र मार्कण्डेय पुराण मार्फत् मौलाउदै गएको छ । वर्ष दिनका चाडपर्वहरू मध्ये नेपालीहरूको महान् पर्व बडादशैंकी प्रधान देवता पनि शक्ति माता दुर्गा नै हुन् । हिन्दुहरूका ३३ कोटी देवी देवताहरूमध्ये यस पर्वमा विशेष गरी शक्क्तिस्वरूपा दुर्गामाताको आराधना गरिन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँअन्तर्गत महाअष्टमीको शुभअवसरमा आईतबार बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलकी धर्मपत्नी सबिता पौडेल पनि पूजाअर्चनामा सहभागी भएका हुन् ।

शक्तिको सहयोग विना शिवले पनि केही गर्न नसक्ने हुँदा शक्तिको अधीनमा नै जगत् टिकेको शास्त्रमा उल्लेख छ । वर्ष दिन सम्म लगातार काम गर्दा शक्ति क्षीण हुने र अरु धेरै काम गर्न शक्तिको आवश्यकता हुने भएकाले कम्तीमा वर्षको एकपटक शक्तिको आराधना गर्ने गरिएको हो । विभिन्न व्यावहारिक कार्यविशेषले गर्दा मानिसको वर्षदिनभरि क्षीण भएको शक्तिलाई वर्षमा १ पटक आद्याशक्तिरूपा भगवती दुर्गाको उपासना गरी शक्तिको पुनर्नवीकरण गर्ने महत्वपूर्ण सामजिक र सांस्कृतिक पर्वका रूपमा दशैंपर्व मनाउने हाम्रो अनादि परम्परा हो ।

तर, यही समयमा नै किन भन्ने प्रश्न पनि उब्जिन सक्छ । शरद् ऋतुमा जस्ले भक्तिपूर्वक शक्ति स्वरुपा दुर्गाको महापूजा आराधना गरी सप्तशती चण्डी पाठ गर्दछ । त्यसका सम्पूर्ण दुःख कष्टहरू नाश भएर जाने र धनधान्य सुख ऐश्वर्य प्राप्तिसँगै रोग व्याध र शत्रु नाश भई जीवन आनन्दमय हुने स्वयम् मार्कण्ड पुराणको देवी महात्म्यमा बताइएको छ । त्यसैले शारदीय ऋतुमा नै दशैं मनाइन्छ र देवीकै पूजा गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदा देखि आश्विन शुक्ल नवमीसम्म शक्तिको आराधना पछि दशैं यानिकी दशमीका दिन नवदुर्गाको विसर्जनपश्चात्् प्रसादस्वरुप पुर्णिमासम्म टीका जमरा लगाउने गरिन्छ । नाम रूप र गुणका भेदले शक्तिका अनेक रूप छन् ।

नेपाल आदिम कालदेखि नै देवभूमिका नामले परिचित छ । स्वयं प्राकाट्य शक्तिपीठ तथा वैदिक र तान्त्रिक पद्धतिबाट स्थापित भएका सिद्ध पीठका कारण नेपाल सिद्धभूमि र तपोभूमि हो । सती, पार्वती, सीता, गुह्येश्वरी, पाथीभरा, त्रिपुरासुन्दरी, विन्ध्यावासिनी, बंगलामुखी,मनकामनालगायतका देवीहरूको शक्तिकेन्द्र भएकोले प्रत्येक नेपालीले पारिवारिक कल्याणका साथै शक्ति सञ्चय र राष्ट्र कल्याणका लागि राष्ट्रले राष्ट्रिय पर्वका रुपमा दशैं पर्व मनाउँदै आएको छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकको रूपमा मनाउने दशैं धार्मिकका साथै नेपालीको मौलिकतासँग पनि जोडिएको छ ।