Breaking

प्रचण्डको सत्ता ढाल्ने शेखरको नयाँ खेल, देउवाको पनि साथ, ओली–देउवा मिल्दा प्रधानमन्त्री को ?


काठमाडौँ — दशैंको समयमा आम नेपाली जन्मथलो फर्किँदै गर्दा खुसियाली छाएको छ । परदेशमा रहेका आफन्तहरू समेत दशैँ मनाउन जन्मथलो फर्किएर रमाइरहँदा देशको शासन संचालन गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने सत्ताको चिन्तामा छन् । सत्ता सहयात्री दल नेपाली कांग्रेसभित्रको विग्रहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सकसमा पारेको छ । पूर्वसहमति अनुसार कम्तिमा दुई वर्ष सत्तामा टिकिराख्न प्रधानमन्त्री प्रचण्डले माओवादीको कोटामा परेको कोशी प्रदेशको सभामुख र संघीय संसदको समितिसमेत छाड्न लगाएका थिए ।

यस्तो अवस्थामा सत्तारुढ गठबन्धनबाटै कोशी प्रदेशमा माओवादीको नेतृत्वमा सरकार बन्ने प्रचण्डको विश्वास थियो । तर, कांग्रेसको शेखर कोइराला पक्षले सभापतिको निर्णय लत्याउदै एमालेसँग सत्ता सहकार्य गरेपछि प्रचण्डको चिन्ता बढेको छ ।
राजनीतिक अस्थिरता नेपालको पुरानै रोग हो । करिब दुई तिहाई हाराहारीको नेकपाको सरकारले समेत पूरा अवधि पार गर्न नसकेको तीतो अनुभव ताजै छ । वर्षैपिच्छे सरकार फेरिने अवस्थाको अझै अन्त्य भइरहेको छैन ।

वर्तमान सत्तारुढ गठबन्धन टुट्यो भने अर्को गठबन्धन कस्तो बन्छ भन्ने पनि टुंगो छैन । तर, सत्तारुढ दलका नेताहरू कोशीको घटनाले वर्तमान सत्ता गठबन्धनमा कुनै असर नपर्ने दाबी गर्छन । कोशीमा नयाँ गठबन्धन निर्माण गराएका कांग्रेस नेता शेखर कोइरालाले पनि संघीय सरकारमा कुनै असर नपर्ने सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् ।

राजनीतिमा जे गरिन्छ, त्यो भनिदैन, जे भनिन्छ, त्यो गरिँदैन भनिन्छ । विगतमा कांग्रेस र माओवादी सत्तामा हुँदै माओवादीले विपक्षी एमालेसँग तालमेल गरेर चुनावमा भाग लिएको थियो । केपी ओली नेतृत्वको दुई तिहाईको सरकार पनि केही वर्षमै ढल्न पुगेको थियो । अहिले कोशीको तरङग बागमतीसम्म पुगेको छ । बागमतीमा पनि कांग्रेस र एमाले मिलेर माओवादीको मुख्यमन्त्री फाल्ने बहस सुरु भइसकेको छ ।

बागमतीमा माओवादी र कांग्रेसबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति छ । हाल माओवादीका नेता शालिकराम जमरकट्टेल बागमती प्रदेशको मुख्यमन्त्री छन् । कांग्रेसले गठबन्धनबाट विद्रोह गर्दै आफ्नो भागको मुख्यमन्त्री खोस्ने रणनीति लिएपछि जम्मकट्टेलले प्रदेशको नाम र राजधानी नै परिवर्तन गर्नुपर्ने तर्क अघि सारेका छन् । माओवादीका नेताहरू भने वर्तमान सत्ता गठबन्धन निरन्तर अगाडि बढ्ने दाबी गर्छन । ओली राजनीतिमा सक्रिय रहेसम्म एमालेसँग मिल्न सम्भव नरहेको माओवादी नेताहरुको जिकिर छ ।

पहिलो संविधान सभा निर्वाचनमा नेताहरूले समयमै संविधान बन्छ भन्ने भाषण धेरै गरेका थिए । तर, पटक पटक समय थप्दा पनि संविधान निर्माण हुन सकेन । दोस्रो संविधान सभाको बेला नेताहरूले संविधान समयमै बन्छ भनेनन्, तर संविधान बन्यो । अहिले सत्तारुढ गठबन्धनका नेताहरुले गठबन्धन कायमै रहन्छ भनेको पनि भत्किने खतरा देखेरै हो ।

तर, अर्को गठबन्धन कस्तो बन्छ भन्ने अहिलेसम्म टुंगो लागिसकेको छैन । यद्यपि, सत्तारुढ गठबन्धन बचाउने र नयाँ बनाउने खेलहरु भइरहेका छन् । सरकार पटक पटक बदलिए पनि अवस्था नबलिएकोमा जनता भने आक्रोशित छन् ।