Breaking

सस्तो बजारमा खसी–च्यांग्रा किन्नेको भीड, किन्नेलाई राहत, माग धान्नै सकस, च्यांग्राको माग कति ?


काठमाडौँ — खाद्य कम्पनीले सहुलियतमा खशीबोकाको बिक्री सुरु गरेसँगै दशैंको रौनक थप बढेको छ । कम्पनीले बजार सन्तुलन गर्न सञ्चालन गरेको सहुलियत बजारमा मंगलबार पहिलो दिन किनबेच गर्नेको भीड बाक्लो थियो । दशैं भन्नासाथ खशी, बोका, च्यांग्रा जस्ता पशुहरु विशेष प्राथमिकतामा पर्ने गर्छ ।

दशैंमा मासुको माग धेरै हुने भएकाले पनि यो पर्वमा खशी बोकाको किनबेच निकै हुन्छ । धेरै किनबेच हुने हुँदा उपभोक्तालाई राहत होस् भन्ने उद्देश्यले सरकारी स्तरबाट सहुलियत बजार सञ्चालन गर्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसैलाई ध्यानमा राखेर बुधबारबाट खशी, बोका तथा च्यांग्राको बिक्री थालेको छ । कम्पनीको प्रादेशिक कार्यालय थापाथलीबाट बिक्री थालेको पहिलो दिनै उपभोक्ताको बाक्लो उपस्थिति थियो ।

तीन हाजर खशी, बोका र च्यांग्रा काठमाडौँ भित्र्याउन लागेको कम्पनीले सञ्चालन गर्ने यस्ता कार्यक्रमले बजारमा मूल्य स्थिर रहन मद्दत गर्छ । दशैंलाई लक्षित गरेर अन्य व्यापारीले विभिन्न स्थानमा राख्ने बजारको तुलनामा खाद्यले बेच्ने खशी बोकाको मूल्यमा प्रतिकिलो न्यूनतम १० रुपैयाँ कम पर्न आउने कम्पनीको दावी छ ।

कम्पनीका अनुसार जिउँदो खसी–बोकाको प्रतिकेजी मूल्य ६ सय ८० रुपैयाँ र जिउँदो चांग्राको प्रतिकेजी मूल्य १ हजार २६० रुपैयाँ तोकिएको छ । काठमाडाँैमा मात्रै २० हजार खशीबोका खपत हुने भए पनि त्यो सबै कम्पनीले मात्रै उपलब्ध गराउन सक्नेस्थिति भने छैन ।

काठमाडौँमा खशी बोका बिक्री हुने ठाउँ धेरै छ । तर, पनि चर्काे मूल्य र बिचौलियाबाट हुन सक्ने ठगीबाट जोगिन मानिसहरु खाद्य कम्पनीतर्फ आकर्षित हुने गरेका छन् । खाद्यप्रति आम सर्वसाधारणको विश्वसनीयतासँगै सस्तोमा स्वस्थकर उपभोग्य वस्तु पाउने भएकाले पनि आममानिस खाद्यमा नै जाने गरेका हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित गरी सञ्चालन गरेको सुपथ मुल्यले आम सर्वसाधारणमा केहि राहत मिलेको छ । तर, प्रत्येक वर्ष बजार महंगी रहँदा सामान जति सस्तो भए पनि नागरिकहरु मारमा परेका छन् । तुलनात्मक रुपमा अन्यत्र भन्दा खाद्यमा सस्तो हुने गरेता पनि प्रत्येक वर्ष औसत एउटै संख्यामा मात्रै खशीबोकाको परिणाम बेचविखन गर्दा औपचारिकता मात्रै पुरा गरेको ग्राहकको गुनासो छ ।

स्टक रहेसम्म सञ्चालन हुने यो कार्यक्रममा यस वर्ष २ हजार खशीबोका र एक हजार च्यांग्रा काठमाडौँ भित्रने कम्पनीले बताएको छ । मकवानपुर, दाङ र धादिङबाट खसीबोका र रसुवाबाट च्याङ्ग्रा खरिद गरेर ल्याइएको हो । दशैंको रौनककै रुपमा हेरिने खशीबोकाको बिक्रीले नेपाली कृषकहरुका लागि पनि केही राहत दिएको छ । सबै क्षेत्रमा भारतको सामानले बजार ओगटिरहेको अवस्थामा नेपाली कृषकलाई आफ्नो उत्पादनको बजार मिलेको छ ।