Breaking

कांग्रेसमा प्रचण्डको हस्तक्षेप, शेखर र देउवा मिले, फुटको जोखिम, गगन र विश्वको असन्तुष्टि


काठमाडौँ — कोशी प्रदेशमा नेता शेखर कोइराला समूहले गरेको विद्रोहले पार्टीभित्र संकटको विरुवा रोप्ने अभियान सुरु भएको छ । कोशीमा कांग्रेसले नै मुख्यमन्त्री त पायो, तर एमालेको समर्थन रहेकोले पार्टीत्रिको विद्रोहको ज्वाला केन्द्रसम्मै दन्किने आँकलन गर्न थालिएको छ । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिमा देखिएको संकट तत्कालका लागि टरे पनि नेपाली कांग्रेसभित्रको संकटको ज्वाला भने थप दन्किने देखिन्छ ।

लामो समयदेखि संसदीय अभ्यास गर्दै आएको पुरानो लोकतान्त्रिक पार्टी भनिने कांग्रेसले एमालेकै सहयोगमा कोशीमा सरकार गठन त गर्यो, तर सँगै पार्टीभित्र विद्रोहको आवाजलाई पनि बीजारोपण गरेको छ । गठबन्धनकै निर्णयलाई काउण्टर दिएर शेखर कोइराला पक्षले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सफल भएकै दिन कोशीमा संसदीय दलको नेता उद्धव थापाले राजीनामा दिएका छन् ।

सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाको आशिर्वाद पाएका थापाले नैतिकताको आधारमा राजीनामा दिएको बताए पनि उनको राजीनामाले असन्तुष्टि र संकटको दुवैको छनक दिएको छ । कांग्रेस बैठकमा प्रधानमन्त्री प्रचण्डको उपस्थितिले उनको हस्तक्षेपकारी भूमिका खुलेरै आएको छ । दुई असन्तुष्ट पक्ष देउवा र शेखरको सहमति प्रचण्डले गराईदिनु पर्ने दृश्य देखिन थालेको छ । शेखरले गरेको विद्रोहको अनुमोदनले तल्लो तहसम्म नै रक्तसञ्चार गरेको छ । जसले गर्दा कांग्रेसजनमा पनि विद्रोहको भाव सिर्जना हुने पक्का बनेको छ ।

कम्युनिष्टलाई परास्त गरेर मात्र आफ्नो भविष्य सुनिश्चित गर्नुपर्ने कांग्रेस अहिले कुन कम्युनष्टिलाई बोक्ने भन्नेमा जोडबल गरिरहेको छ । कांग्रेसमा अहिले पार्टीलाई एमालेकरण गर्ने कि माओवादीकरण गर्ने भन्नेमा लडाई देखिन्छ । शेखर कोइरालाले एमालेकै बोली बोलिरहँदा देउवा र प्रचण्डको केमेस्ट्रि बडो जमिरहेको छ । यसअघि शेखरकै समूहमा देखिदै आएका महामन्त्री गगनकुमार थापा अहिले दुवैप्रति असन्तुष्ट छन् । ठूलो इतिहास बोकेको कांग्रेसलाई दुई कम्युनिष्ट शक्ति एमाले र माओवादीले खेलाउन थालेपछि महामन्त्री थापा दुबै समूहसँग रुष्ट बनेका हुन् ।

केन्द्रमा शीर्ष नेतृत्वमा मात्र देखिएको ध्रुवीकरण कांग्रेसको अन्तर कलहले अहिले कोशी प्रदेशमा समेत चिरिएर सतहमा आएको छ । कांग्रेसमा अन्तरद्वन्द्व ठूलै हुँदा कम्युनिष्टहरुले खेल्ने मौका पाएका छन् । जसले गर्दा केन्द्रमा एउटा कम्युनिष्टसँग अंकमाल गरिरहेको कांग्रेस प्रदेशमा र्को कम्युनिष्टको बुई चढ्नुपर्ने अवस्थामा आईपुगेको छ । सभापति, महामन्त्री र शेखरको गुट स्प्रष्ट तीन धारमा देखिए पनि कांग्रेस तत्कालै फुटिहाल्ने अवस्थामा भने नरहेको विश्लेषकहरु बताउँछन् ।

कांग्रेस बिस्तारै एमाले र माओवादीकरण हुँदै गएको पार्टीकै नेताहरूले स्वीकारिरहँदा तल्लोतहका कार्यकर्तामा वितृष्णा छाएको छ । भएभरको सबै व्यवस्था ल्याउने भूमिका नै आफ्नो ठान्ने र विरासतको कुरा गर्ने कांग्रेस कम्युनिष्टको साहारामा मात्रै चल्ने हो भने यसले पार्टीलाई कहाँ पु¥याउला ?शेखरले कोशी प्रदेशमा गरेको जस्तै सातवटै प्रदेशमा कांग्रेसका अन्य प्रभावशाली नेताहरूले गरे भने पार्टीको हालत पानी नहालेको फुलका बिरुवा मुर्झाए झै मुर्झाउने निश्चित छ ।