Breaking

मानसिक रोगीको आँकडा सुन्दै डरलाग्दो, युवापुस्ता नै निशानामा, डिप्रेशनबाट जोगिने कसरी ?


काठमाडौँ — विश्व मानसिक स्वास्थ्य दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्वभर विकराल बन्दै गएको मानसिक स्वास्थ्य समस्याबाट नेपाल अछुतो छैन । मानसिक स्वास्थ्य स्वस्थ राख्न शारीरिक स्वास्थ्य र सकारात्मक सोचमा ध्यान दिनुपर्ने मनोचिकित्सकहरुको सुझाव छ । हरेक वर्ष अक्टोबर १० का दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाउने गरिन्छ ।

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि र अभियानको महत्वपूर्ण हिस्सा मानसिक स्वास्थ्य दिवस यो वर्ष ‘मानसिक स्वास्थ्य विश्वव्यापी मानवअधिकार (मेन्टर हेल्थ इज युनिभर्सल हृयुमन राइट्स) भन्ने नारा सहित नेपालसँगै विश्वभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । मानसिक स्वास्थ्य समस्या न्यूनिकरणका लागि विश्वभर अनेक प्रयासहरु जारी छ तर मानसिक स्वास्थ्य समस्या विश्वभर झनझन विकराल बन्दै गएको तथ्याङ्कहरुले देखाउँछ । विश्व स्वास्थ्य संगठनले जुन २०२२ मा प्रकाशित गरेको तथ्य अनुसार विश्वमा हरेक ८ जनामा १ जनालाई मानसिक स्वास्थ्य समस्या हुने गरेको पाइएकोे छ ।

आधाभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षभित्र सुरु हुन्छ र २४ वर्षको उमेरसम्म ७५ प्रतिशत देखिने विश्व स्वास्थ्य संङठनका विभिन्न अध्ययनहरुले देखाएको छ । नेपालमा कुल जनसंख्याको करिब २५ प्रतिशत मानिस कुनै न कुनै स्वास्थ्य समस्याबाट पीडित हुने गरेको तथ्याङ्क छ । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०२० मा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा १३ देखि १७ वर्षको उमेर समूहमा जनसंख्याको ५.२ प्रतिशत र सोभन्दा माथिका व्यक्तिहरूमा १० प्रतिशतमा कुनै न कुनै खालको मानसिक स्वास्थ्य समस्या रहेको जनाएको छ ।

राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ अनुसार नेपालमा कुल नसर्ने रोगहरूको समस्या मध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको देखाएको छ । राजनैतिक र सामाजिक अस्थिरता, रोजगारीको लागि विदेश पलायन, गरिबी, लैङ्गिक हिंसा, सामाजिक विभेद, प्राकृतिक विपत्तिहरु मानसिक स्वास्थ्य समस्याका कारणले नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको छ ।

नेपालमा १० जनामध्ये एक जना व्यक्ति मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्यासँग जुधिरहेको र दैनिक १९ जना मानिसको ज्यान जाने गरेको तथ्याङ्कप्रति प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले चिन्ता व्यक्त गरेका छन । प्रधानमन्त्री दाहालले मानसिक स्वास्थ्य प्रवद्र्धनका कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन । परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलमा मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने वातावरण सिर्जना गर्नु आवश्यकता औल्याएका छन । वैदेशिक रोजगारीमा रहेका नागरिकहरूलाई उनीहरूको कार्यस्थलमा आधारभुत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न अन्य देशहरूसँग समन्वय गर्नुपर्ने बताएका छन ।

किशोर÷किशोरीमा डिप्रेसन, एन्जाएटी (चिन्ता)सँग जुध्नेको संख्या दैनिक बढ्दो छ । मनोचिकित्सकको परामर्श लिने बिरामीको संख्या समेत बढ्दो छ । मानसिक स्वास्थ्य स्वस्थ राख्न शारीरिक स्वास्थ्य र सकारात्मक सोचमा ध्यान दिनुपर्छ । दैनिक शारीरिक अभ्यास, सन्तुलित आहारको सेवन, राम्रो निद्रा र सकारात्मक सोचको विकासले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग पुग्ने मनोचिकित्सकहरुको सुझाव छ ।

नेपालको सन्दर्भमा मानसिक स्वास्थ्यलाई अझै पनि पूर्व जन्मको पाप, सामाजिक अपहेलना र तिरस्कारको अवस्था छ । उपचार मनोपरामर्श जस्ता विषय अझै पनि गौण छन । किशोर–किशोरीहरुमा बढ्दो चिन्ता र तनावलाई सुन्ने वातावरणको विकास गर्न जरुरी छ ।