Breaking

बालेनको अफर, जागिर र सीप, एमाले नेता भन्छन्: विदेशी नेपाली नै दोषी, नेता मस्तिमा, जनता सास्तीमा


काठमाडौँ — नेताहरूले नेपाललाई कहिले सिंगापुर त कहिले स्विट्जरल्यान्ड बनाउने भाषणा गरे । व्यवस्था पनि बदलियो तर, जनताको अवस्था बदलिन सकेन । युवाको आकर्षण देशमा भन्दा परदेशमै रह्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रत्येक दिन मनमा आफ्नो सुनौलो भविष्यको सपना र हातमा निलो पासवर्ड बोकेर विदेशिने युवाहरूको दृश्यले नेताहरूको भाषणलाई गिज्याइरहेको छ । दिनप्रतिदिन युवाशक्ति बिदेशिनु र पराईको युद्धमैदानमा विना दोष अन्तिम श्वास फेर्नु नेपालीको नियति बनेको छ । सुखी नेपाली, र समृद्ध नेपालको नाराको धज्जी उडाइरहेको छ ।

बाध्यताले खाडी मुलुक र रहरले युरोप–अमेरिका जानेहरूलाई देशभित्रै बस्ने वातावरण सरकारले बनाउन सकेको छैन । प्राकृति रूपमा सम्पन्न भए पनि नेतृत्वको दीर्घकालीन सोच नहुँदा नेपाल पछि पर्दै आएको छ । नेपालीहरु आफ्नो सुन्दर भबिष्यलाई साकार पार्न मरूभूमिको तातो माटोमा पसिना बगाउन विवस छन् । नेताहरूको भाषण व्यवहारमा परिवर्तन भइदिएको भए, आज इजरायलमा निर्दोष नेपालीहरूले ज्यान गुमाउनुपर्ने थिएन ।

लोकतन्त्र बहालीपछि तीन तहका सरकारसहितको संघीयताबाट मुलुकले विकासमा फड्को मार्ला भन्ने आशा पनि निराशामा बदलिदै गएको छ । नेताहरूको भाषणबाट आजित भएका नेपाली जनताले स्वतन्त्र उम्मेदवारबाट केही हुन्छ कि भनेर विकल्प पनि खाजे । स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बेरोजगारी अन्त्य गर्ने प्रयास थालेका छन् । उनले बेरोजगारी समस्या तीन वर्षभित्र समाधान गर्ने उद्देश्यले १५ हजारलाई तालिम र ५ हजारलाई नयाँ रोजगारी सिर्जना गर्ने कार्यक्रम घोषणा गरेका छन् ।

दिनहुँ पलायन हुने युवा शक्तिलाई रोक्न यसले पक्कै केही संकेत गर्छ । तर, यतिले मात्रै पर्याप्त हुँदैन । संघीय सरकारबाटै विशेष प्याकेज योजना आउनुपर्छ । युवा शक्तिमा पनि देशभित्रै केही गरौँ भन्ने भावना विकास हुनुपर्छ । युवालाई रोजगारी दिन नसक्नु राज्यको लाचारीपन हो । राज्यले युवालाई उसको योग्यता र क्षमता अनुसारको रोजगारी दिन सक्ने हो भने दिनहुँ पलायन हुनेको संख्या बढ्ने होइन, घट्ने छ ।

गरिब र धनीबीचको खाडल बढ्दो क्रममा छ । गरिब झन गरिब हुने अवस्थाको अन्त्य गर्न राज्यले दीर्घकालीन योजना ल्याउन सकेको छैन । राजनीतिक अस्थिरता र पहुँचवालाहरूकै हालीमुहालीले युवाहरू निराश छन् । रोजगारी र सुशासनको अवस्था हुने हो भने दैनिक विदेश पलायन हुनेको संख्यामा ह्वात्तै कमी आउने छ । युवा शक्तिले आफ्नै देशमा श्रम गर्ने वातावरण बन्दै जाने छ ।