Breaking

शव खोज्नेले सरकार सरापे, सास भएकाले पनि आश देखेनन्, नागरिक बंकरमा, सरकार भिडियोकलमा


काठमाडौँ — इजरायलमा हमासको गोलाबारीले त्रासको वातावणमा बाँचिरहेका नेपालीहरुको उद्धारका लागि सरकारले ठोस कदम अघि बढाउन सकेको छैन । समितिहरुको बैठक बसाउने तथा पीडितहरुलाई टेलिफोन गर्नुबाहेक अहिलेसम्म सरकारले उद्धारको प्रभावकारी काम गर्न सकेको छैन । १० जना नेपालीले ज्यान गुमाइसक्दा जिवितै रहेका नेपालीहरु उद्धारका लागि विलौना गरिरहेका छन् । दुःखमा पनि सरकारको साथ नपाए, अर बेला किन चाहियो ? इजरायलमा हमासको आक्रमको चपेटामा परेका नेपालीहरुले अहिले सरकार खोजिरहेका छन् ।

बंकरमा रहेका नेपालीहरु बाहिर गोली चलेको र बम पड्किएको आवाजले जतिबेला जे पनि हुनसक्छ भन्ने त्रासमा छन् । दुई दिनदेखि पानीकै भरमा स्वास चलिरहेको छ । सँगै रहेका जाम्बियार थाइल्याण्डका नागरिकलाई सरकारले उद्धार गरिसक्यो । तर १० जना साथी गुमाईसकेका नेपालीहरु सरकारले सुरक्षित स्थानमा लैजाने झिनो आशमा छन ।

युद्धग्रस्त क्षेत्रमा कृषि विश्वविद्यालयका ३९ सहित ११४ भन्दा बढि नेपाली विद्यार्थीहरु उनीहरु उद्धार गरिदिन सकारसँग बिलौना गरिरहेका छन् । तर सरकार भने देखिनेगरि पीडतको सहयोगी बन्न सकेको छैन । पीडितहरुले दुतावासमा सम्पर्क गर्छन् । लोकेसन पठाईदिनुस भन्ने जवाफ आउँछ तर उद्धार गर्न कोही पनि आउँदैनन् । अर्थात दुःखमा समेत नागरिकले सरकार पाएनन् । आफ्नै साथी गोली लागेर ढलेको देख्दा समेत केही गर्न नसक्ने अवस्थामा छन् ।

नेपालमा रहेको अभिभावकहरुको छटपटी झनै बढेको छ । हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिकै रहेका आफ्ना छोराछोरीहरु आक्रमणको शिकार हुने डरले आत्तिएका छन । सास हुनेको सास, मृत्यु भएकाहरुको लासै भएपनि नेपाल ल्याइदेउ । हाम्रा छोराछोरीलाई आफ्नै छोराछोरीजस्तो मानिदेउ भनेर उनीहरुको चित्कार छ ।

सरकार पनि इजरायलका नेपालीहरुबारे गम्भीर देखिएको छ । तर पनि भईरहेको ढिलाईले भने पीडितहरुाथि झनै पीडा थपिइरहेको छ । घटना भएपछि आइतबार मात्रै परराष्ट्रमन्त्री एनपी साउँदले संसदलाई जानकारी गराएका थिए । आइतबारै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले परराष्ट्रमन्त्री साउदको संयोजकत्वमा नेपालीहरूको अवस्था पहिचान गर्ने र उद्धार सम्बन्धी निर्णय गर्ने समन्वय संयन्त्र गठन गरिएको छ ।

संयन्त्रले सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय गरेको छ । तर पीडितहरुले समिति नभइ उद्धार चाहिएको बताएका छन् । अरु देशजस्तो चाहेर पनि नेपाल आफै हवाई जहाजमार्फत उद्धार गर्नसक्ने अवस्थामा छैन । तर पनि प्रधानमन्त्रीले इजरायल सरकारको अनुमति पाउनेबित्तिकै उडाउनका लागि विमान तयारी हालतमा राखिएको बताएकाछन् ।

नभए उद्धारका लागि भारतलाई अनुरोध गर्ने तथा इजरायलमै सुरक्षित स्थानमा राख्ने विकल्पमा समेत छलफल भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायली समकक्षीसँग टेलिफोन संवाद समेत गर्न सकिरहेका छैनन् । यद्यपी सोबारमात्रै उनले पीडितहरुलाई टेलिफोन गरेर चाँडै उद्धार गर्ने आश्वासन दिएका छन् ।

सरकारले अहिलेसम्म इजरायलमा रहेका नेपालीलाई सचेत रहन र घटनाबारे जानकारी दिन विज्ञप्ति जारी गर्ने बाहेकको कदम चाल्न सकिरहेको छैन । सरकारी तबरबाट अहिलेसम्म उद्धारको लागि समन्वय र ठोस योजना नत सार्वजनिक नभएको छ, न त त्यसको तयारी नै भएको छ ।

इजराली दुतावासले १० जना नेपालीको मृत्यु भएको आधिकारिक पुष्टि गराउँदासम्म पनि परराष्ट्र मन्त्रालय केहीपनि बोलेको छैन । नेपालीहरुको गोलाबारीको त्रसित वातावरणमा बाँचिरहदा हाम्रा प्रधानमन्त्री र परराष्ट्रमन्त्री बन्द कोठाबाट आश्वासन दिने काम मात्रै हो भन्ने प्रश्न पनि पीडितहरुले उठाएका छन् । सत्ता र विपक्षी दलहरुले नै पनि आपतका बेला सरकारको कदम सुस्त रहेको बताइरहेका छन् ।

जनतालाई राज्य जिउँदै छ भन्ने आभाष गराउन पनि सरकारका लागि यो स्वर्णिम मौका हो । आपत् विपद्मै राज्य नभेट्टाए सरकारप्रति जनविश्वास अँझै घट्नेछ । अर्कोतर्फ नेपालमा केही गर्न नसक्ने अवस्था देखेर विदेशिएका नेपाली स्वदेश फर्किनै पाएनन् भने सरकारका लागि त्योभन्दा ठूलो असफलता के नै पो होला र ? इजरायलमा जीवन मरणको दोसाँधमा बाँचिरहेका नेपालीहरुको उद्धारमा सरकारले यथासक्य चाँडो पहल् गरोस् ।