Breaking

आयो दशैंः खुल्यो सरकारको पसल, के के पाइन्छ सस्तोमा, कहाँ जाने किन्न?


काठमाडौँ– दशैँ, तिहार, छठ लगायत चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ तथा दुग्ध विकास संस्थानले उपत्यकासहित विभिन्न ४२ जिल्लामा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । चाडपर्वका बेला उपभोग्य वस्तुको माग बढी हुने भएकाले उपभोक्ता नठगिउन् भनेर सरकारले देशैभर विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

सरकारको अनुदानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट टे«डिङ कर्पाेरेसन र दुग्ध विकास संस्थानको सहकार्यमा दशैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले आईतबारबाट काठमाडौँ उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सहुलियत पसलको औपचारिक उद्घाटन गरेका छन् । मंसिर ३ गतेसम्म चल्ने उक्त सुपथ पसलमा पहिलो दिनको सुरुवाती समयमा थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपभोक्ता न्यून रहे पनि उपरान्ह पछि भने उपभोक्ताको बाक्लो उपस्थिति रहेको थियो ।

सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउने गरेको व्यापार कम्पनीले जनाएको छ । पसलबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो र सबै प्रकारका तेल किन्न पाउने छन् । चिनीको परिणाम भने कम्पनीसँग पनि निकै न्यून भएका कारण प्रतिव्यक्ति दुई किलोसम्म मात्रै बिक्री वितरण गरिएको छ । चाडबाडको मुखमा बजार मुल्यमा वृद्धि हुने हुँदा उपभोक्ता ठगिने जोखिम भएका कारण कम्पनीले खाद्य वस्तुमा केही छुट सहित पसल सञ्चालनमा ल्याएको हो ।

सरकारी अनुदान लिएर उपभोक्तालाई सुपथ मूल्यमा सामान बिक्री गर्ने भएकाले यस्ता पसलमा उपभोक्ताको आकर्षण रहने गरेको छ । तर, डेढमहिना सम्म चल्ने यस्ता पसलले त्यतिकै लामो सयमसम्म उपभोक्तालाई आवश्यक खाद्यन्न उपलब्ध गराउन नसक्ने तीतो यथार्थ पनि रहेको छ । यद्यपि, चिनी र तेलबाहेक अन्य कुनै पनि खाद्यन्नको अभाव नहुने कम्पनीले बताएको छ । तर, पनि विगतका वर्षहरुमा झै यस वर्ष पनि रित्तै हात फर्किन पर्ने हो कि भन्ने चिन्ता उपभोक्तामा देखिएको छ ।

गुणस्तरीय दैनिक उपभोग्य खाद्यन्न सस्तो मूल्यमा नै पाउने हुँदा सरकारले सबै जनताको पहुँच पुग्ने गरी धेरै ठाउँमा यस्ता पसल खोल्नुपर्ने केही उपभोक्ताको सुझाव छ । काठमाडौँसँगै दूर दराजको उपभोक्ताले पनि महसुस गर्न सक्ने गरि कार्यक्रम अगाडी बढाउनु पर्ने केहीको तर्क छ । यद्यपि, सरकारले ४२ जिल्लाका ४८ स्थानमा यस्ता पसलको सञ्चालन गरिरहेको छ । चाडबाडलाई मात्रै लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालन गर्नुभन्दा सधैका लागि कालाबजारी रोक्न सरकारले तदारुपत देखाउनु पर्छ । वर्षमा महिना दिनमात्रै सुपथ पसल चलाउने बाँकीका महिना भने जनताको ढाड सेक्ने गरि मूल्य आकासिने प्रवृत्ति राम्रो नभएको उपभोक्ताको बुझाई छ ।

उपभोग्य सामग्रीमा बजार मूल्यभन्दा किलो वा लिटरमा ७ देखि १० रुपैयाँसम्म छुट दिइएको छ । काठमाडौँ उपत्यकामा रहेका रामशाहपथ, थापाथली, नख्खु र सूर्यविनायकमा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण गरिएको कम्पनीले जनाएको छ । कम्पनीले उपभोक्ताका लागि टोकनको व्यवस्था गरे पनि पहिलो दिन भएर होला सायद, निकै अव्यवस्थित देखिन्थ्यो । बिल काट्ने कर्मचारीदेखि सामान लिन पुगेका उपभोक्तहरू अलमलमा परिरहेका थिए । महंगीको समयमा जनतालाई राहत दिन सरकारले चालेका यस्ता कमदले उपभोक्त सन्तुष्ट त देखिन्छन् तर, केही महिनाका लागि मात्रै राहत मिल्ने नागरिकको दीर्घकालिन समाधान खोज्न जरुरी छ ।