Breaking

कक्षा कोठाबाट निस्केर आन्दोलनमा शिक्षक, सडक ढाकेर प्रदर्शन


काठमाडौँ – कक्षाकोठामा विद्यार्थीहरूमाझ हुनुपर्ने शिक्षक-शिक्षिकाहरू आज सडकमा उत्रिएका छन् । माइतीघर-वानेश्वर सडक ढपक्कै ढाकेर उनीहरुले गरेको विरोध प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त बनिरहेको छ ।

संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् । विभिन्न जिल्लाबाट शिक्षक-शिक्षिका गाडी रिजर्भ गरेर आन्दोलनका लागि काठमाडौं आएका छन् । सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा यो आन्दोलन सुरू भएको हो । महासंघले देशभरका सबै सामुदायिक विद्यालयहरु बन्द गराएको छ ।

विधेयकमा विभिन्न १८ बुँदे असहमति राख्दै शिक्षकहरु आन्दोलित भएका हुन् । राहत, करार, बालविकास, स्थायीलगायत शिक्षक कर्मचारी आन्दोलन सहभागी छन् । सरुवा, बढुवा, दरबन्दी लगायतका मुद्दा उठाएका उनीहरुले स्थानीय तह मातहत नबस्ने बताएका छन् ।

शिक्षकहरूको आन्दोलनको कारण देशभरका झण्डै ३० हजार विद्यालय बन्द हुनुका साथै ७० लाख जति विद्यार्थी पढ्नबाट वञ्चित हुनेछन् ।

शिक्षकहरूले सडकै ढाकेर आन्दोलन गरेपछि ट्राफिकलाई सवारी आवागमत सुचारु गराउन सकस परेको छ । अहिले माइतीघर बानेश्वर खण्डमा सवारीसाधनको आवागमन ठप्प छ । यसले पूरै उपत्यकाको ट्राफिक अस्तव्यस्त बनाएको छ ।