Breaking

सुनको नाईको भेटिएनन्, नेता जोगाएपछि जंगिए ओली, डामिएका भीआईपीलाई उन्मुक्ति, छोएन पुनलाई


काठमाडोँ– गत साउन ३ गते बरामद भएको ६० किलो सातसय १६ ग्राम सुन तस्करी प्रकरणमा मुछिएका ५० जना विरुद्ध सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदातलमा मुद्धा दर्ता गरेको छ । सीआईबीले अनुसन्धान गरिरहेको प्रकरणको ६० दिने हद म्यादका कारण सरकारी वकिलले मुद्धा दर्ता गरिएको हो । त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद गरिएको करिब ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आईतबार मुद्धा दर्ता गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सीआईबी)बाट प्राप्त अनुसन्धानको प्रतिवेदनको अध्ययन सकाएर जिल्ला अदालतमा मुद्धा दायर गरिएको हो । यसअघि सरकारी वकिललाई तीन दिन मिसिलको अध्ययन गर्न समय दिइएको थियो । गत बुधबार सीआईबीले ५७ दिन सम्मअनुसन्धान गरि रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । सुन तस्करी गरेको अभियोगमा सीआईबीले पक्राउ परेका ३२ र फरार १८ जना गरि ५० जनालाई प्रतिवादी बनाएको भए पनि सरकारी वकिलले भने झण्डै आधाभन्दा बढीलाई उन्मुक्ति दिएको छ । सरकारी वकिलले २१ जनालाई प्रतिवादी बनाउने आधार नदेखि २९ जनालाई मात्र प्रतिवादी बनाएको हो । प्रतिवादी बनाइएका मध्ये २६ जना प्रहरी हिरासतमा छन् भने ३ जना फरारको सूचीमा छन् ।
प्रतिवादी बनाइएका २९ जनामा सुन तस्करीका मुख्य नाइके भनिएका तिब्बतियन मूलका बेल्जियम नागरिक दावा छिरिङ र उनकी पत्नी अमला रोकासमेत रहेका छन् । २३ जना नेपाली र ९ जना विदेशी पक्राउ परेकाहरु विरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकता सम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐन अनुसार मुद्धा चल्ने भएको छ । तर, माओवादी नेता वर्षमान पुनकी गाउँले चेली रोका प्रहरीको फरार सूचीमा छिन् । रोकालाई माओवादी निकट भएकै आधारमा फरार बनाएको धेरैको आशंका छ ।

नेपाल, भारत, चीन र बेल्जियम गरी चार देशका नागरिकको संलग्नता देखिएको उक्त प्रकरणमा नेपाली नागरिकता र राहदानीको किर्ते समेत भएको छ । ५ जना चिनियाँले काभ्रे र काठमाडौंबाट नेपाली नागरिकता र राहदानी बनाएका छन् । यसै प्रकरणमा नाम जोडिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग सीआईबीले बयान लिए पनि प्रतिवादी भने बनाईएको छैन । जसले गर्दा सुनको लहरो तान्दा माओवादी नेतृत्वसम्म नै पुग्छ भन्ने विश्लेषकहरुले बताईरहँदा त्यसमा आशंका गर्ने ठाउँ झन् बलियो बनेको छ ।

बे्रक शुसहित हङकङबाट नेपाल भित्रिएको सुन गत साउन ३ गते राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । विभागले १९ दिनसम्म अनुसन्धान गरी थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा लगाएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो । सङ्गठित अपराध कसुरमा ६० दिनको म्याद हुने व्यवस्था गरिएको हुँदा ३१ गते ६० दिन पुग्ने भएकाले सोही मितिमा मुद्धा अदालतमा पुर्याइएको हो । तर, अनुसन्धानकै लागि दुई महिना व्यतित गर्दा पनि सुन तस्करीको मुख्य नाईके भने पत्ता लाग्न सकेन । सिआईवीको अनुसन्धानले सुनमा नयाँ तथ्य खुलेको छ । अनुसन्धानले सुन तस्करीको उद्गम स्थल हङकङ मानेको छ । हङकङबाटनै पाँच जनाको गिरोहले अबैध रुपमा नेपालमा सुन पठाउने गरेको खुलेको छ । गिरोहल नेपालमा चिनिया मुलका नागरिकसहित नेपालीलाई भरियाको रुपमा प्रयोग गरेर सुन तस्करी गर्ने गरेको सिआईवीको अनुसन्धानलेदेखाएको छ । यद्यपी नेपालबाट हङकङसम्म पुगेर अनुसन्धान गरेको सिआईवीले सुनको खास मालिक पत्ता लगाउन सकेको छैन । अहिले पक्राउ परेकाहरु योजनाकार देखि मतियार सम्मछन् ।