Breaking

सत्ताबाट हटाए जनता सडकमा उतार्ने प्रचण्डको धम्की, माधवलाई धोका, झस्किए देउवा!


काठमाडौँ — केही दिनदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाखौँ जनता सडकमा उतार्ने धम्कीको भाषा बोल्दै आएका छन् । सत्ता समिकरण फेरबदलको खेलमा प्रतिपक्षी एमालेसँगै कांग्रेसभित्रका केही नेताहरुसमेत लाग्दाप्रधानमन्त्री प्रचण्ड भने कसरी हटाउँदो रहेछ हेरौँला भन्दै हिँडेका छन् । आवेगमा सत्ताबाट हट्ने निर्णय लिँदाभोग्नुपरेको १४ वर्षअघिको क्षतिलाईसमेत उनले उनले बिर्सिएका छैनन् ।

चौतर्फी घेराबन्दीको सामना गरेरै भएपनि यो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ताको बागडोर छाड्नेवालामा छैनन् । सत्ता सहयात्री नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा एमालेले तारन्तार राजीनामा दिन दबाब दिईरहँदा उनले १४ वर्षअघिको आफ्नो पहिलो कार्यकालमा व्यहोर्नुपरेको क्षति झलझली सम्झिएका छन् । २०६६ को वैशाखमा प्रधानसेनापती रुकमाङ्गत कटवाल प्रकरणले उठाएको रिस थेग्न नसकेरै उनले पदबाट राजीनामा दिएका थिए । त्यहि दिनदेखि उनको ओरालो यात्रा सुरु भयो, त्यसपछिका चुनावमा सोचेजस्तो नतिजा हात पार्न सकेन, निरन्तर जनमत गुमाउनुपर्यो ।

रुकमाङ्गत कटवाल प्रकरणको समयमा प्रधानमन्त्री प्रचण्डको न त कसैले राजीनामा माग्ने आँट नै गरेका थिए, न त प्रधानमन्त्री पदबाट राजीनामा नै दिनुपर्ने अवस्थामा थियो । भर्खरै शशस्त्र युद्धबाट शान्ति प्रक्रियामा आएका प्रचण्डमा जनयुद्धमा उम्लिएको रातो रगत नसेलाएकैले, आफ्नै घमण्डले उनले सत्ताबाट च्यूत हुनुपरेको थियो । तर अहिले, बारम्बार प्रतिपक्षी र सत्तापक्षकै नेताले राजीनामा माग्दा प्रधानमन्त्री प्रचण्डको मन यति कठोर भएको छ कि, सितिमिति कसैले गलाउन सक्नेवालामा छैनन् ।

प्रमुख सत्ता साझेदार, अझ भनौँ जसको काँधमा चढेर सत्ता टिकिरहेको छ, अर्थात संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका नेता शेखर कोइरालासहितका नेताहरु प्रधानमन्त्री प्रचण्डको कार्यशैलीले हैरान छन् । उनीहरु प्रधानमन्त्री प्रचण्ड अराजक भईसकेकोले अब कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने भन्दै देश दौडाह गरिरहेका छन् । तर अहँ, प्रधानमन्त्री प्रचण्ड सत्ताबाट हट्ने होइन, सत्ता लम्ब्याउने कसरतमा छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको आशिर्वाद् पाउन्जेल अरु नेताले जती घोक्रो फुलाएपछि यो पटक प्रधानमन्त्री प्रचण्ड सजिलै गल्नेवालामा छैनन् । मोर्चा नै खडा गर्दासमेत माधव नेपाललाई प्रधानमन्त्री पदबाट हटाउन नसकेको तितो अनुभवबोकेर हिँडेका प्रचण्डसत्ताको शक्ति कतिसम्म हुँदोरहेछ भन्ने राम्रैसँग बुझेका छन् । कोटको खल्तीबाट सत्ता गठबन्धनको तालाचाबी २ वर्षपछि उनै माधवलाई बुझाउने सत्ता गठबन्धनबीचको समझदारी छ ।

तर, सत्ता सहकार्यको १ वर्ष वित्न नपाउँदै सत्ता ढाल्ने प्रयत्नले उनी नत माधव नेपाललाई सजिलै सत्ता छाड्न तयार छन्, न त शेरबहादुर देउवालाई नै भनेको समयमा प्रधानमन्त्री बनाउनेमा ढुक्क हुने घटनाक्रम विकास हुँदै छ । बरु उनी २ वर्ष होइन, पाँचै वर्ष सत्ता चलाएर देखाईदिने भन्न थालेका छन् । उसो त, प्रधानमन्त्री प्रचण्डलाई प्रतिपक्षी कित्तामा पुर्याउन नेकपा एमालेले पनि ठूलै जोडबल गरिरहेको छ । उसले जुन दिन प्रचण्डको सत्ता यात्रा सुरु गर्यो, त्यहि दिनदेखि प्रचण्डको राजनीतिक भविश्य समाप्त पार्ने खेल खेलिरहेको छ ।

तर, प्रतिपक्षमा बसेर भनेजस्तो काम गर्न नसक्ने राम्रैसँग बुझेका प्रधानमन्त्री प्रचण्ड अनेक विकल्पमा आफैंसँग परामर्श गरिरहेका छन् । प्रतिपक्षमा रहेका ३३ दलको संयुक्त मोर्चा बनाउँदाखेरी नै सरकारलाई हल्लाउन नसकेको जीवित उदाहरण बोकेर हिँडेका प्रचण्ड राजीनामा माग्दै हिँड्ने एमाले र कांग्रेसका नेताहरुलाई उचित समयमा सबक सिकाउँदै अघि बढ्ने ध्याउन्नमा छन् ।बारम्बारको प्रयासमासमेत प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउन नसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रचण्डलाई गलाउन नसकेकोमा आजित छन्, तर प्रयाज जारी छ ।

रिसको झोँकमै सरकारबाट बाहिरिँदा एमाले र कांग्रेस सम्मिलित सरकार बन्ने र राजनीतिक घटनाक्रम अर्कैको कब्जामा जाने राम्रैसँग बुझेका प्रधानमन्त्री प्रचण्ड कच्चा खेल्न चाहँदैनन् । त्यहि कच्चा खेल र सन्की स्वभावकै कारण ससस्त्र युद्ध त्यागेर शान्ति प्रक्रियामा आउने वित्तिकै पाएको जनमतलाई माओवादीले सम्हाल्न नसकेको उनको ठम्याईं छ । कांग्रेस र एमालेको घेराबन्दी अहिले पनि आफूहरुविरुद्ध भईरहेको प्रचण्डले बरु घेरा हाल्न खोज्ने दलालहरुको सातो जानेगरी लाखौँ जनता सडकमा ल्याउने धम्की दिन थालेका छन् ।

समाजवादी गणतन्त्र बनाउन सबै कम्युनिष्ट फेरि एकै ठाउँमा आउनुपर्ने केही दिनअघिको अभिव्यक्तिले झस्किएका कांग्रेस सभापति देउवा प्रधानमन्त्री प्रचण्डलाई राजीनामा गराउने वातावरण बनाउन कार्यकर्ता परिचालित गर्दा प्रधानमन्त्री प्रचण्ड पनि के कम ?देशका विभिन्न ठाउँमा पुगेर अपमानत गर्न खोज्ने, घेरा हाल्न खोज्ने दलालहरुको सातो जानेगरी लाखौँ जनता सडकमा ल्याएर देखाउने चेतावनी दिइरहेका छन् ।

एमाले अध्यक्ष ओलीले राजीनामा मागोस् कि कांग्रेसभित्र शेखरले सभापति देउवाको कान फुकोस्, प्रधानमन्त्री प्रचण्डको सत्ता टिकाउने सतर्कता त्यति कमजोर छैन । एउटाबाट धोका पाए अर्को काँधमा हाम फालिहाल्ने प्रवृत्ति बोकेका प्रधानमन्त्री प्रचण्ड यो पटकको दुई वर्षे कार्यकाल केही गरेरै पुरा गर्ने मूडमा छन् ।

सत्ता सहयात्रीले निहुँ खोजे पाँचै वर्ष सत्ता हाँक्ने, देउवा र नेपाललाई नै हिस्स बनाउने रणनीतिसमेत डायरीमा कोरिसकेका छन् । ससस्त्र माओवादी युद्धका कमाण्डर प्रचण्डसंसदीय प्रणालीमासमेत निरन्त परिपक्व बन्दै जाँदा जसले आफ्नो खोइरो खन्छन्, उनैको दिनगन्ती सुरु गर्ने पूर्वतयारीमा छन्, त्यसैले उनी सत्ताबाट हट्ने कुरा कल्पनासमेत गर्न चाँहदैनन् ।