Breaking

नारायणकाजी बोक्दै देउवा, कांग्रेसभित्र सडकदेखि सदनसम्मै भाँडभैलो, कार्यकर्ता उत्रिए मैदानमा


काठमाडौँ — संसदको ठुलो दल नेपाली कांग्रेसको आडमा प्रधानमन्त्री प्रचण्ड सत्तामा छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले सुशासन सर्तकै रुपमा अघि सारेको छ । तर सरकारको सुशासन अभियानमा सत्तारुढ दल कांग्रेसलाई भारी परिरहेको छ । सत्ता र सरकार प्यारो भएपनि सुशासन अभियान कार्यन्वयनकर्ता गृहमन्त्री नारायणकाजी श्रेष्ठ कांग्रेसका लागि घाँडो बनेको छ । सरकार टिकाउन सदनमा सरकारको बचावट गरेको कांग्रेसले गृहमन्त्रीविरुद्ध सडकमा आफ्नो कार्यकर्ता नै उतारेको छ ।

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथी भएको सांघातिक हमलाविरुद्ध नेपाली कांग्रेसका कार्यकता सडकमा उत्रिएका छन । तरुण दलका नेता कार्यकर्ताले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन । आन्दोलनकारीहरुले तुरुन्त गृहमन्त्रीलाई बर्खास्त गर्न वा आफै सत्ता छोड्न प्रधानमन्त्ती प्रचण्डलाई चेतावनी दिएका छन । ‘गृहमन्त्रालयकै योजनामा यादवमाथि आक्रमण भएको आशंका उनीहरुको छ । सत्तारोहणको पखाईमा रहेका पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस सदनमा यादवमाथी भएको हमला व्यवस्थामाथी भएको हमला भन्दै सरकारको पक्षमा उभिएपनि सडकमा भने आफ्नो नेता कार्यकर्ता उतारेर नाटक मञ्चन गरिरहेको छ ।

प्रधानमन्त्री बन्न पालो कुरेर बसेका कांग्रेस सभापति देउवालाई प्रचण्ड प्यारो छ । तर गृहमन्त्री श्रेष्ठ देउवाको निशानामा पटक पटक नपरेको होइन । पूर्व गृहमन्त्री समेत रहेका आफ्ना नेता बालकृष्ण खाण्डलाई फसाएको आरोप कांग्रेसले लगाउँदै आएको छ । सभापति पत्नी आरजु राणाको बदनामी र सांसद सुनिल शर्माको पक्राउ लगत्तै रिहाईका कारण पनि कांग्रेस गृहमन्त्रीसँग रुष्ट छ । सहमहामन्त्रीमाथी भएको हमला कांग्रेसका लागि गृहमन्त्री खेद्ने अर्को अस्त्र मिलेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पत्नी आरजु राणा जोगाउन अनुसन्धान अधिकारीहरु सरुवादेखि गृहमन्त्री श्रेष्ठलाई घरमै बोलाएर असन्तुष्टि पोख्नेदेखि प्रचण्डलाई गृहमन्त्री हटाउन देउवाको दवाव उस्तै छ । जनस्तरको दवाव र आलोचनाबाट बच्न बाध्यतावस गृहमन्त्री श्रेष्ठलाई गठबन्धनले झेल्दै आएको छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले अघि सारेको सुशासन अभियान गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई महंगो पर्दै आएको छ । प्रतिपक्ष दल हुँदै सत्तारुढ दलकै नेताहरु गृहमन्त्री श्रेष्ठविरुद्ध सडकमा आउनुले गठबन्धनभित्रको मतभेद थप उदाङगो भएको छ ।