Breaking

कोशी सरकारविरुद्धको पूर्णसुनुवाइ सपना र सुष्मालताको इजलासमा


काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष गरिरहेका सांसदबाट मत हालेर विश्वासको मत लिएकोविरुद्ध परेको रिटको पूर्णसुनुवाइ न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको छ ।

सो मुद्दाको सुनुवाइ पहिलो प्राथमिकतामा परेको छ ।

शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ भएसँगै सुनुवाइ सरेको थियो ।

मुख्यमन्त्री थापाले संविधानविपरीत विश्वासको मत लिएको जिकिरसहित पूर्वमुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोच्चमा रिट दर्ता गराएका थिए । विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको दाबी रिट निवेदनमा गरिएको छ ।

उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाउ आदेश जारी गरेका थिए । सभाध्यक्षले हालेको मतलाई सर्वोच्चले संविधानसम्मत् मान्न नसकिने भनिसकेको छ ।