Breaking

प्रकाशमानको आह्वान– खर्च धेरै, परिणाम कम आउने कार्यशैली बदलौं


काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतामा भिज्ने गरी पार्टीका कार्यक्रममा सक्रिय हुनुपर्ने बताएका छन् । कार्यक्रम गर्दा खर्च धेरै, तर परिणाम कम आउने खालको कार्यशैली बदल्नुपर्ने उनको भनाइ छ ।

‘माछा जसरी पानीमा रमाउँछ, त्यसैगरी हामी जनतामा भिज्नुपर्यो,’ आज बिहान काठमाडौंको नयाँबानेश्वरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कार्यक्रम गर्दा सकेसम्म कम खर्च गरेर गरौं । धेरै खर्च गर्ने तर परिणाम थोरै निकाल्नु हुँदैन । बरु दुःख गरौं न ।’

उनले २०४६ सालभन्दा अघिको जस्तै पार्टी बनाउनुपर्ने चुनौती रहेको भन्दै पार्टीका सबै तह र संरचनामा विधि, पद्दती र नियमबाट चलाउनुपर्ने चुनौती रहेको बताए । त्यसका लागि पैसाको बलमा पार्टीमा चलखेल गर्नेहरुलाई ठेगाउन लगाउनुपर्ने उनले बताए । पार्टीभित्र सुविधाभोगी गतिविधि अब रोक्नुपर्ने बताउँदै उनले भने, ‘काम सुको नगर्ने तर पैसाको चलखेल गर्नेहरुलाई अब ठेगान लगाउनुपर्छ । त्यसका लागि पार्टीभित्रैबाट अभियान चलाउनुपर्छ ।’

भ्रष्टाचार र अनियमितता रोक्दै टोल र वडाबाटै कार्यशैलीमा सुधार गरेमा कांग्रेस २०४६ सालभन्दा अगाडिको जस्तै सशक्त बन्ने बताए । ‘बिस्तारै करेक्सन गरेर २०४६ अघिको जस्तै पार्टी बनाउनुपर्ने छ । त्यसो भयो भने कांग्रेसलाई कसैले च्यालेन्ज दिन सक्दैन,’ उनले भने ।

कांग्रेस लोकतान्त्रिक पार्टी भएको भन्दै सबैलाई खबरदारी गर्दै समस्याको समाधान गर्नेतिर लाग्नुपर्ने उनको भनाइ छ । ‘कप्लेन त सबैतिर छ । कप्लेन गरेर मात्र भएन नि । के गरेर समाधान गर्ने भन्नेतिर लाग्नुपर्यो,’ उनले भने, ‘मैले ५६ सालदेखि भन्दै आएको छु– टोल, वडासम्म विधि र नियमबाट चलाउनु पर्यो नि । हामी जहाँ–जहाँ छौं, त्यहाँबाट लागौं न ।’

कसैकसैले कचकच गर्दैमा जिम्मेवारी दिउँ नत भनेर दिन नहुने बताउँदै उनले त्यसो गरेमा इमान्दार नेता कार्यकर्ता निराश हुने बताए ।

केन्द्रबाट सर्कुलर भएका कार्यक्रमलाई परिणाममुखी बनाउन उनले निर्देशन दिए । चर्का कुुरा गर्ने तर काम नगर्ने शैली बदल्न उनले आह्वान गरे । ‘केन्द्रले पठाइहाल्यो, गर्दिउँ न भनेर झारा टार्ने किसिमको काम गर्ने र भाषण मात्र चर्काचर्का कुरा गरेर मात्र हुँदैन,’ नेता सिंहले भने, ‘आधारभूत कुरा नगरेर उडन्ते कुरा गरेर, पार्टी कता–कता पुगिराछ आफूचाहिँ उडिराछ, यसरी काहिँ चल्छ रु’