Breaking

भीमदत्त राजमार्ग अझै खुलेन, सुदूरपश्चिमका ७ जिल्ला प्रभावित


काठमाडौँ – कैलालीमा अविरल वर्षासँगै आएको पहिरोले अवरूद्ध भएको भीमदत्त राजमार्ग अझै खुलेको छैन ।

गोदावरी नगरपालिका-४ को बुढितोलामा सोमबार राति आएको पहिरोसँगै करिब दुई सय मिटर भाँसिएपछि अवरूद्ध भएको राजमार्ग सञ्चालन हुन नसकेको हो ।

डिभिजन सडक कार्यालयले पहिरो पन्छ्याउने काम जारी रहेपनि पहिरो आउने क्रम नरोकिएपछि समस्या भएको जनाएको छ । मंगलबार राति सोही ठाउँमा फेरि पहिरो गएको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख हरी सुवेदीले चारवटा डोजरको प्रयोग गरेर दुवैतर्फबाट पहिरो पन्छ्याउने काम भइरहेको बताए ।

सुवेदीले सडक भाँसिएकै क्षेत्रमा मंगलबार राति पनि पहिरो गएको बताउँदै बुधबार बिहानैदेखि पुन: पन्छयाउन थालिएको जानकारी दिए ।