Breaking

कोशीका मुख्यमन्त्री थापाले लिए शपथ


काठमाडौँ — कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित समारोहमा थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मुख्यमन्त्री थापा मंगलबार नियुक्त भएका हुन् । आफूले शपथ लिएसँगै मुख्यमन्त्री थापाले सानो मन्त्रिपरिषद् समेत बनाएका छन्‚ जसमा निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएका छन् । उनीसहित ३ मन्त्रीले बुधबार नै मन्त्री पदको शपथ लिएका छन् ।

आर्थिक मामिलामा गौतम, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुले शपथ लिए । माओवादीभित्र मन्त्री छनोटमा भएको ढिलाइ र मन्त्रिपरिषद्को कार्यविभाजनमा समय अपुग भएको भन्दै बिहान १० बजेकोका लागि तोकिएको मुख्यमन्त्री र मन्त्रीको शपथ ग्रहण कार्यक्रम साँझ ५ बजेका लागि सारिएको थियो ।