खेलकुद

कप्तान सुनील क्षेत्री एसियाडमा परेनन्, भारतीय फुटबल संघको व्यापक आलोचना


काठमाडौँ — भारतले एसियाडमा सहभागिता जनाउने फुटबल खेलाडीको नाम घोषणा गर्दा सर्वाधिक सिनियर खेलाडी सुनील क्षेत्री, गोलरक्षक गुरप्रित तथा सन्देशलाई समावेश गरेको छैन । भारतका सिनियर फुटबल टोलीका कप्तान सुनील क्षेत्री १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)को टोलीमा परेनन् । भारतीय फुटबल संघले एसियाडका लागि घोषणा गरेको फुटबल टोलीमा सुनीलसँगै दुई सिनियर खेलाडीलाई समेत बाहिर राखेको छ । एसियाडमा यू–२३ टोलीले प्रतिस्पर्धा गर्नेछ । तर, यसमा प्रत्येक सहभागी फुटबल राष्ट्रले कप्तीमा तीनजना सिनियर खेलाडीलाई समावेश गर्न पाउँछन् । एसियाडमा महिलातर्फ भने कुनै उमेरको छेकबार छैन । फुटबलतर्फ भने एसियाडमा सहभागी राष्ट्रले आफ्ना सिनियर खेलाडीलाई एसियाडमा पठाएका छन् ।

तर, भारतले एसियाडमा युवा खेलाडीलाई मौका दिनुपर्ने जनाउँदै सिनियर खेलाडीलाई समावेश नगरेको हो । सुनीलसँगै गोलरक्षक गुरप्रित सिंह र सन्देश झिंगन पनि टोलीमा परेनन् । गत महिना भारतले दक्षिण एसियाली फुटबल (साफ) च्याम्पिनयसिपको उपाधि नवौँपटक जित्दा सुनील र गोलरक्षक गुरप्रितले उत्कृष्ट प्रदर्शन गरेका थिए । फाइनलको टाइब्रेकरमा गुरप्रित नायक बनेका थिए । अनुभवी तथा सिनियर खेलाडीलाई एसियाडमा सहभागी नगराउँदा भारतीय फुटबल संघको व्यापक आलोचना भएको छ । संघका अध्यक्ष कल्याण चौवेले आयोजकसँग यसका बारेमा छलफल भइरहेको बताएका छन् । ‘हामीले युवा खेलाडीलाई मौका दिने उद्देश्यका साथ सिनियरलाई बाहिर राखेका थियौँ,’ कल्याणले भने, ‘अहिले उनीहरूको आवश्यकता बोध भएको छ, हामीले एसियाडको आयोजकसँग पुनः नाम सच्याउन मिल्ने वा नमिल्ने भनी छलफल गरिरहेका छौँ ।’ एसियाडमा भारतले १८औँ वरीयता पाएको छ । भारतले एसियाडमा पदक जित्ने लक्ष्य राखेको छ । एजेनसी