Breaking

माधव नेपाललाई साक्षी राखेर राजदूतले मेनपावर धन्दा गरेकोमा संघको आपत्ति, सिन्डिकेटको प्रतिकार गर्ने


काठमाडौँ – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले माधव नेपाललाई साक्षी राखेर मलेसियाका लागि नेपाली राजदूत डिल्ली पौडेलले मेनपावर धन्दा गर्न खोजेकोप्रति आपत्ति जनाएको छ ।

नेपाली दूतावासबाट माग पत्र प्रमाणीकरणमा हुने ढिला सुस्ती र श्रमिकलाई परेको अप्ठ्यारोका विषय समाधानभन्दा आफ्नै धन्दा चलाउने गरी काम गर्नु गम्भीर विषय भएको संघले जनाएको छ ।

नेपालमा मलेसियाको कम्पनी खडा गरेर अनिवार्य तामिल लिएर मात्रै मलेसिया जान पाउने गरी नेपाली दूतावासले त्यहाँको गृह मन्त्रालयलाई प्रस्ताव गरेको विषय गम्भीर र कूटनीतिक मर्यादा विपरीत भएको संघको ठहर छ ।

यो पनि पढ्नुहोस्( राजदूतको ‘मेनपावर धन्दा’ मा माधव नेपाल साक्षी, मलेसियाको रोजगारीमा सिण्डिकेट लाउने प्रयास

मलेसियामा कामदार पठाउन नेपालका सीमित व्यवसायीहरूबाट मात्रै कामदार लिन त्यहाँको गृह मन्त्रालयसँग लबिङ गरेको विषयमा सञ्चारमाध्यममा आएकाले प्रष्ट पार्न दूतावाससँग माग पनि गरिएको छ ।

कुनै पनि नाममा एकाधिकार हुने गरी सिन्डिकेट तयार गर्न खोजे संघले त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ ।