काठमाडौ – सवारीसाधनको लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै रकम ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-१३, एकान्तकुनाका ३० वर्षीय राजु परियार र काठमाडौं महानगरपालिका-१४, कलंकी, सुनारगाउँका ३६ वर्षीय ब्रम्हा रिसाल छन् ।
परियारलाई गएको शनिबार ललितपुरकै लुभबाट पक्राउ गरिएको सो कार्यालयका प्रवक्ता एवं एसपी रविन्द्र रेग्मीले जानकारी दिए । पक्राउ पर्ने रिसाल भने कृष्ण ज्वेलर्स एन्ड सन्सका सञ्चालक हुन् । उनलाई हिजो काठमाडौंकै कालीमाटीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार परियारले १२ जनाभन्दा बढी व्यक्तिहरूलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिने भन्दै विश्वास दिलाएका थिए । त्यसरी उनले नगद र सुनको गहना (औँठी) समेत लिई चार लाख ३० हजार रुपैयाँबराबरको ठगी गरेको प्रहरीले जनाएको छ ।
त्यसरी ठगी गरी लिएको सुन रिसालले खरिद गरेका थिए । ठगी गरिएको सुन किनेर उनले गालेका थिए । गालेर ढिक्का बनाइराखेको सुन ११.६८० ग्रामसहित उनलाई पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।
उनीहरूलाई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको सो कार्यालयले जनाएको छ ।
प्रतिक्रिया