Breaking

बालेनको पाकिङ मोडल, माफियाले देलान् छुट ? कसरी हुन्छ कार्यन्वयन ? कहाँ कति पैसा तिर्ने ?


काठमाडौँ — आफ्नो चुनावी एजेण्डालाई मुर्त रुप दिँदै काठमाडौँ महागरपालिकाका मेयर बालेन एक पछि अर्काे गर्दै सुधारको काममा लागिपरेका छन् । त्यसै अनुरुप अघि बढेको महानगरपालिकाको ध्यान अब राजधानीवासीको टाउको दुखाईको विषय बन्ने गरेको सवारी पार्किङतिर गएको छ । काठमाडौँमा सवारी पार्किङको समस्या नयाँ होइन । महानगरपालिकाको सबैभन्दा ठूलो समस्या मध्ये सवारी पार्किङ पनि एक हो ।

न्यूरोड, बानेश्वर जस्ता अतिव्यस्त शहरहरुमा त शुल्क तिरेरै पनि पार्किङ गर्न नपाउने अवस्था छ । पार्किङ समस्याकै कारण मानिसहरु सवारी लिएर बाहिन निस्कनै डाराउँछन् । महानगरवासीले वर्षाै देखि भोग्दै आइरहेको सवारी पार्किङको समस्या अब भने केही हदसम्म भए पनि कम हुने संकेत महानगरले देखाएको छ । महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो चुनावी एजेण्डा नै बनाएको राजधानीको पार्किङ व्यवस्थापन कार्यान्वयन गर्न तर्फ महानगर लागिपरेको छ ।

महानगरको आर्थिक ऐन २०८० ले व्यवस्था गरे अनुसार बहु तले आवासीय वा व्यावसायिक भवनमा रहेका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ बापतको शुल्क संकलन गर्न निषेध गरेको छ । अर्थात् अब महानगरभित्र रहेको निजी मार्ट रेष्टुरेण्ट, सपिङ कम्प्लेक्स, मल, अस्पताल लगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीहरुसँग पार्किङ शुल्क लिन पाइने छैन ।

एक त पार्किङ गर्ने स्थानको अभाव पाई हाले पनि स्थान अनुसार फरकफरक शुल्कको अन्योलता । यसैलाई मध्ये नजर गर्दै महानगरले निजी पार्किङ व्यवसाय गर्नेलाई पनि पार्किङको शुल्क निर्धारण गरेको छ । क्षेत्र नम्बर एक र दुई भनेर छुट्याएको क्षेत्रमा भिन्दा भिन्दै पार्किङ शुल्कको व्यवस्था गरिएको हो । पार्किङ शुल्कमा एकरुपता ल्याउन समय अनुसारको स–शुल्क पार्किङको व्यवस्था मिलाएको छ ।

सवारी लिएर बाहिर निस्कनु पर्याे भने टाउको दुखाईको विषय बन्ने पार्किङ समस्यालाई न्यूनिकरण गर्न महानगरले निजी क्षेत्रबाट सञ्चालन गर्ने पार्किङ व्यवसायीलाई प्रोत्साहन गर्ने नीति पनि लिएको छ । महानगरले व्यवसायिक रुपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको दश वर्षसम्म सम्पत्ति कर छुट हुने व्यवस्था गरेको छ ।

त्यस्तै लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ गर्ने गरी सञ्चालन गरिने व्यवसायलाई व्यवसायमा लाग्ने व्यवसाय करमा पाँच वर्षसम्म शत प्रतिशत छुट प्रदान गरिने महानगरको आर्थिक विधेयकमा उल्लेख गरिएको छ । महानगरले महानगरवासीको समस्या बुझि पार्किङ र त्यसमा लाग्ने शुल्कको उचित व्यवस्थापन गरेको महानगरको कमदल सकारात्मक भएको महानगरवासी बताउँछन् ।

केही महानगरवासीले यसलाई सकारात्मक नै भने पनि केही भने महानगरको कमदलाई लिएर असन्तुष्ट देखिन्छन् । समय अनुसार पार्किङ शुल्कले सेवामा भन्दा पनि पैसा कमाउनमा ध्यान गएको उनीहरुको बुझाई छ । एक घण्टा पछि प्रत्येक १५ मिनेटमा शुल्क बढ्दा यसले राहत भन्दा आहत दिने केहीको तर्क छ ।

महानगरभित्र सञ्चालनमा रहेको पार्किङ व्यवसाय प्रायः दादागिरी र पहुचवालाको मात्र रहेको भेटिन्छ । यस्तोमा पार्किङको सिण्डीकेट तोड्ने बालेनले प्रयास गरेको छ । तर, बालेन आफैले गरेको निर्णय पनि कार्यान्वयनमा आएको देखिएको छैन । केही समय अघि नयाँ बसपार्क भन्दा अन्यत्रबाट लामो दूरीको बस छुट्न नपाउने भने पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन । अहिले पनि यत्रतत्रबाट निर्वाध रुपमा बस छुटि नै रहेको छ ।

त्यस्तै घरमा नै कुहिने र नकुहिने फोहोरको वर्गिकरण गर्नु पर्ने महानगरको निर्देशन पनि लागू हुन सकेको छैन । महानगर आफैले गरेको निर्णय पुरा गर्न नसकिरहेको अवस्थामा फेरि कदम अघि सारेको पार्किङ व्यवस्थापन र शुल्क निर्धारणले मूर्त रुप लिँदै कार्यान्वयनमा आउन जरुरी छ ।