Breaking

प्रचण्डको सफलताः भ्रष्टाचारीलाई जेल, स्वास्थ्यमा सुधार, मिटरब्याजीलाई कानुन, हट्यो जनताको सास्ती


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताको बागडोर सम्हालेको ७ महिना नाघ्यो । कमजोर राजनीतिक अंकगाणित हुँदासमेत उनी सत्ताको नेतृत्व गर्न पुगे । यसबीचमा लामो समयसम्म मन्त्रिपरिषद् विस्तारसमेत गर्न नसकेको भनेर चर्को आलोचना खेप्नुपर्यो भने केही सुशासनका सवालमा सकारात्मक कदम अघि बढेका छन् । संसदको तेस्रो ठूलो दलको रुपमा खुम्चिएपनि यो पटकको संसदीय चुनावपछि सत्ताको बागडोर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातमा गयो ।

सुरुमा एमालेसहित दलको समर्थन पाएर प्रधानमन्त्री बनेका उनले ९९ प्रतिशत सांसदहरुको विश्वासको मतसमेत पाए । तर, राजनीतिमा स्थायी सत्रु र स्थायी मित्र हुँदैन भन्ने चर्चाकै बीच अहिले नेपाली कांग्रेससहितका दलहरुको साथ पाएर उनले सत्ता संचालन गरिरहेका छन् । सत्ता हत्याएको ७ महिना नाघ्दा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार केही आलोचना र केही सकारात्मक कदमका कारण चर्चामा रह्यो । यसबीचमा सत्ताको बागडोर आफ्नो हातबाट फुत्काउने प्रयत्न भएकोमा त्यससँगसमेत मुकाबिला गर्दै प्रधानमन्त्री प्रचण्ड अघि बढिरहेका छन् ।

राज्य संजालनको तालाचाबी फुत्काउने ध्येयले नै एउटा शक्ति सरकारले माखो मारेन भनेर विश्लेषण गरिरहँदा सरकारले भने दुई ठूला भ्रष्टाचारका फाईल खोलेर धेरैको मुख बन्द गरिदिएको छ । भुटानी शरणार्थी प्रकरण र ललिता निवासको जग्गा हिनामिना प्रकरणको फाईल खोल्दा केही उच्च पदस्थ व्यक्ति पक्राउ पर्दा प्रचण्ड नेतृत्वको सरकारले हाईहाई पाईरहेको छ ।

यसबाट प्रधानमन्त्री प्रचण्डले आफ्नो काम गर्ने स्प्रिट बढाएका छन् भने आफू थप हौसिएको भनिरहेका छन् । सुशासन, समृद्धि, संविधानको कार्यान्वयन र सामाजिक न्यायलाई केन्द्रमा राखेर आफूले काम गरिरहेको बताउने प्रधानमन्त्री प्रचण्डले यसबीचमा २ पटकसम्म सदनबाट विश्वासको मत पाउन सफल भएका छन् ।

वर्तमान सरकारले भ्रष्टाचार काण्डका फाईल पल्टाउने काम मात्रै गरेको छैन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा पनि सकारात्मक कदम अघि बढाएको छ । देशभरका सरकारी, सामुदायिक तथा निजी अस्पताललाई कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउने व्यवस्था कार्यन्वयनमा आउँदा सरकारले अर्को वाहवाही पाईरहेको छ । यस्तै सरकारले धेरै चाप हुने वीर अस्पतालमा साउन एक गतेदेखि बिहान ८ बजेदेखि नै बहिरङ्ग अर्थात् ओपीडी सेवा शुरु गरेको छ । त्यस्तै मिटरव्याजसम्बन्धी विधेयक संसदबाट पारित भएर कानुनी रुप लिँदा मिटरब्याज पीडितहरुले सरकारको नाममा जिन्दावादको नारा लगाएका छन् ।

यसअघि दुई–दुई पटक सङ्घीय संसद्ले पारित गरी राष्ट्रपति कार्यालय पठाइएको नागरिकता विधेयक अहिलेकै कार्यकालमा राष्ट्रपतिबाट प्रमाणीकरण भएकोमा यसले समेत कानुनी रुप पाईसकेको छ । नागरिकता विहीनहरुले अहिले धमाधम नागरिकता पाएसँगै उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिईरहेका छन् । यस्तै ठुलै राजनीतिक राजनीतिक रस्साकस्सीकाबीच नेतृत्व विहिन न्यायलयले प्रधानन्यायधिश पाएको छ ।

सरकारी कार्यलयहरुमा सेवामा टाइमकार्ड प्रणाली लागु गर्दा सेवाग्राही लाभम्वित छन । तुलनात्मक रुपमा राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्रलगायत कार्यलयमा लाग्ने लाइन कम हुँदा सेवाग्राहीले राहत महसुस गरेका छन् । तथापी अहिले पाईरहेको वाहवाहीमै रमाउने भन्दा पनि अझै गर्नुपर्ने धेरै काममा सक्रियता देखाउनुपर्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

वर्तमान सरकारले गर्नुपर्ने धेरै काम छन् । केही विषयमा पीडितले न्याय पाउनेगरी कानुनी रुप पाउँदा अझै जनजीविकाका विषयमा गर्नुपर्ने काम धेरै छन् । यस्तोमा सरकार थप जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै अरु सत्तारुढ दलहरुले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई झक्झकाईरहेका छन् । केही राम्रा प्रयास भएको तर यत्तिले मात्रै नपुग्ने भएकोले प्राप्त स्याबासीबाट पुलक्कित नभई अरु थुप्रै कामहरु गर्न बाँकी रहेको बताउँछन्, सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे ।

आफ्नो अभिव्यक्तिकै कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक संसदलाई स्पष्टीकरण दिनुपर्यो । यसबीचमा आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट ओहिर्याएको आरोप खेपेका उनलाई कतै बजेट नै संसदबाट पास नहुने हो कि भन्ने भय पनि थियो । तर, बजेट संसदबाट पास भयो, आफ्नो यो तेस्रो कार्यकाल फोटो टाँस्नका लागि मात्रै नभएको स्पष्टीकरण दिए । यो कार्यकाल सम्झन लायक बनाउने र जनजीविकासँगै सुशासनका सवालमा पनि बाँकी कामहरु अघि बढाउने उनको अठोट छ ।

नेकपा माओवादीसँग स्पष्ट संसदीय अंकगणीत नभएकोले सत्ता कहाँसम्म पुग्छ भन्ने विषय प्रमुख दल नेपाली कांग्रेससहितका दलहरुको हातमा छ । अरुको काँधमा चढेर सत्ता हाँक्दा सबैलाई मिलाउनुपर्ने बाध्यताका बीच प्रधानमन्त्री प्रचण्ड अघि बढिरहेका छन् । आशा गरौँ, प्रचण्डको यो तेस्रो प्रधानमन्त्रित्वकाल ईतिहासको पानामा लेख्न लायक बन्नेछ ।