Breaking

ठमेलको गुण्डा प्रहरीको खोरमा, गुण्डा नाईकेको खोजी, को को परे पक्राउ


काठमाडौँ — केही समयदेखि काठमाडौं उपत्यकामा अपराधिक गतिविधि बढ्न थालेको छ । अपराधको प्रकृति फेरिँदै घटनाहरु बढ्न थालेका हुन् । गुण्डागर्दी लुटपाट झै–झगडाले प्रसय पाएको पर्यटकिय नगरी ठमेल फेरी अशान्त हुन थालेको छ । एकपछि अर्को घटना हुनु र संलग्न पक्राउ पर्दै जानुले आपराधिक गतिविधि थप बढेको र चुनौतीसमेत थपिएको पुष्टि हुँदै गएको हो । गत असार १५ गते ठमेलस्थित ओमनिया क्लबमा सानुभाई भनिने युवराज गुरुङ र उनको समुह रातको २ बजे आफ्नो ग्याङसहित क्लबमै प्रवेश गरेर क्लबका कर्मचारी र सञ्चालक राजेन्द्र गुरुङमाथी हातपात सहित कुटपिट गर्छन ।

उक्त घटना भएको १५ दिनमा घटनामा संलग्न मुख्य नाइके ३३ वर्षिय युवराज गुरुङसहित ६ जनालाई प्रहरीले पक्राउ गर्दै सार्वजनिक गरिसकेको छ । अन्य पक्राउ पर्नेमा काठमाडौं टोखाका ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, तनहुँ, दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या– ५ का कमल तामाङ रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा गुण्डा नाइके सानुभाइको ग्याङका दुई जना विनोद लामा र रघु लामालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । सानुभाई इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैंटेका समूहका व्यक्ति हुन्। उनी घैंटेको मुख्य सहयोगी भएर काम गर्थे ।

प्रविधिको विकास, प्रहरीको सक्रियताले ठमेल सुरक्षित र शान्त बन्दै गएको थियो । स्थानीय नागरिक, व्यवसायीको सक्रियताले विगतको जस्तो संगठित अपराध शुन्य जस्तै थियो । तर केही समयदेखि ठमेल क्षेत्र त्रसित बन्दै गएको हो । पछिल्लो घटनाले केही वर्षयता ठमेलमा सुस्ताएको गुण्डाराज फेरि ब्युँतिएको भान गराउँछ । गुण्डागर्दी लुटपाट झै–झगडाको परिचय पाएको पुरानो ठमेलको झल्को आउन थालेको हो ।

काठमाडौ घुम्न र मनोरञ्जन गर्न आउने स्वदेशी र विदेशी पर्यटकको रोजाईमा पर्ने ठमेलको सुरक्षामाथी प्रश्न उठिरहँदा उपत्यकामा नै अपराधिक घटनाहरु बढिरहेको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ । काठमाडौँ जिल्लामा १ जना प्रहरीको काँधमा ६१७ जना नागरिकको सुरक्षाको जिम्मेवारी छ । यस्तोमा गुण्डागर्दीको शृंखला बढेसँगै सुरक्षा चुनौती पनि थपिएको काठमाडौका एसएसपी दान बहादुर कार्कीले बताए । यसअघि प्रहरी प्रधान कार्यालयले क्राइम एक्सन प्लान लागू गरी अपराध अनुसन्धानमा दक्ष जनशक्ति कुल जनशक्तिको १० प्रतिशत र्पुयाउने लक्ष्य राखेको थियो । तर, त्यस अनुसार काम हुन नसक्दा प्रहरीमाथि चुनौती थपिएको हो ।

गुण्डागर्दीसँगै बैङकिङ कसुर, क्रिप्टो करेन्सी, साइबर अपराध अनलाइन ठगी जस्ता घटनाहरु पनि उत्तिकै बढेका छन् । पछिल्लो समय जघन्यसहित सबै प्रकारका अपराध बढेको प्रहरी तथ्यांकले देखाउँछ । हत्या, लागुऔषध, संगठित तथा आर्थिक, सवारीसम्बन्धी अपराध बढेको प्रहरी तथ्यांकले बताएको छ । आत्महत्या, महिला तथा बालबालिकासम्बन्धी अपराध पनि त्यतिकै मात्रामा छन् । गएका ६ वर्षको तथ्यांकलाई हेर्ने हो भने पनि अपराधजन्य घटना झण्डै ५० प्रतिशतले बढेको देखिन्छ । यसरी अपराध बढिरहँदा अपराध अनुसन्धानमा प्रहरीको संख्या भने बढ्न सकेको छैन ।