काठमाडौँ– समस्यैसमस्याले जेलिएका आम जनता सरकार भएको अनुभूति गर्न चाहन्छन् । तर मुलुकको प्रमुख शासकिय अड्डामा सिंहदरबारमा मन्त्री भेटिदैनन । जसले जनप्रभावका काममा समस्या मात्रै होइन, जनताले सास्ती ब्यहोर्नु परेको छ । भुइँमान्छेलाई एक छाक भातकै चिन्ता छ । व्यापारी समेत सटर बन्द भएपछि सडकमा छन् । मिटरब्याजदेखि सहकारी पीडितसम्मले माइतीघरलाई मावली बनाइरहेका छन् । तर जनता भोक र प्रधानमन्त्री शोकमा भएका बेला सिंहदरबारमा मन्त्रीलाई मस्ती चलिरहेको छ । मन्त्रीलाई भेट्नै नपाएको गुनासोपछि मुलुकको प्रमुख शासकिय अड्डा सिंहदरबामा हामी पुग्दा २५ मध्ये २० मन्त्री मन्त्रालयमा भेटिएनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा केही मन्त्री यस्ता पनि छन् । जसलाई जनताले अहिलेसम्म चिनेकै छैनन् । न जनताले चिन्ने गरि काम गरेका छन् । एउटा स्थानीय तहको मेयरलाई देशभरका जनताले चिन्छन्, तर केन्द्रीय शासन सत्ता हत्याएका मन्त्रीहरु गुमनाम अवस्थामा छन् । सेवाग्राही मन्त्रालय पुग्दा मन्त्रीको मेटिङ छ भन्दै फर्काउने गरिएको छ । सिंहदरबारका मन्त्रालयहरुमा छापामारका शैलीमा मन्त्रीको खोजी गरेपनि हामीले अधिकांशलाई मिटिङ, कार्यक्रम, उद्घाटन र विमोचनमा सिंहदरबार बाहिर गएको भेट्टायौं ।मन्त्रीहरु बाहिर जेजस्ता सभा–समारोहहरुमा उपस्थित हुन्छन् तिनीहरुमध्ये ९९ प्रतिशत वा शतप्रतिशत अनुत्पादक र अनावश्यक देखिन्छन ।
‘अनिकालमा बिउ भेट्टाए’जस्तो भेटिएका केही मन्त्रीहरु पनि कार्यसम्पादनका हिसावले आफै सन्तुष्ट छैनन् । जसबाट जनता सन्तुष्ट हुने कुरै भएन । मन्त्रालयको नेतृत्वमा आफु आएपछि धेरै सुधारका प्रयास थालेको मन्त्री ज्वालाको भनाइ छ । आफुले लाइसेन्स आवेदन, नविकरण वा बर्ग थप र राजस्व अनलाइनबाट बुझाउन सकिने व्यवस्था गरेको दाबीगरेका छन् । शहरी विकास मन्त्री सीता गुरुङले समेत आफु आइसकेपछि बागमति करिडोरको काम र सुकुम्बासी बस्ती व्यवस्थापन लगायतलाई प्राथमिकता दिएको बताएकी छिन् । कार्यसम्पादनका लागि सिंहदरबार आउनैपर्ने मत उनको पनि छ ।
पहिला पहिला चुनाव हुँदा मन्त्रीहरु गाउँ फर्किन्थे । र सिंहदरबार खाली हुन्थ्यो । अहिले न चुनाव छ, न कुनै पर्व चलिरहेको छ । तैपनि मन्त्रीलाई सिंहदरबारभित्र भेट्न मूस्किल छ । जसको असर प्रत्यक्ष रुपले कार्यसम्पादनमा परेको छ । अर्थमन्त्री प्रकाशशरण महतले ल्याएको बजेट नै विवादको केन्द्रमा छ । १७ पटकमन्त्री भएपनि श्रममन्त्री शरतसिंह भण्डारी गुमनाम झैँ हराएका छन् । मन्त्री भएर स्याम्पेन फोड्नेभन्दा अर्काे उपलब्धी उनको छैन । शिक्षामन्त्री कुन दूलोमा छिरे अत्तोपत्तो छैन । पछिल्लो समय दुई प्रकरणका फाइल खोलेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ चर्चामा छन् । तथापी विज्ञहरु कुनै पनि मन्त्रीबाट चित्तबुझ्दो कार्यसम्पादन नभएको भन्दै आलोचना गरिरहेका छन् ।
निहत्था जनतालाई सपना र विकासको पोको देखाउँदै सांसदको अविरजात्रा गरि मन्त्री बन्दा स्याम्पेन फोडेकाहरुको मन्त्रालयमै अहिले सन्नाटा छ ।हिजो जंगलमा बन्दुक पड्काएका देखि सडकमा चप्पल पड्काएका सम्म मन्त्री बनेका छन् । आफ्नै विगत सम्झिएर अलिकतिमात्रै जनताका पक्षमा काम गर्दिने हो भने आधीउधी समस्या यसै समाधान हुन्थे ।तर आफ्नै विगत विर्सिएर सान सौकतमा रमाइरहेका उनीहरुले जनताको हबिगत के सम्झिन्थे ।
प्रतिक्रिया