Breaking

सरकारलाई रेमिट्यान्स, व्यवसायीको कमाउ धन्दा, विदेशिने युवालाई एकपछि अर्काे सास्ती


काठमाडौँ — वैदेशिक रोजगारीमा जानेहरुका लागि सहयोगी भूमिकामा रहन खोलिएका म्यानपावर कम्पनीहरुको ठगी धन्दा निकै मौलाएको छ । वैदेशिक रोजगार सुरक्षित र सम्मानित बनाउनुपर्ने सरकार भनेम्यानपावर कम्पनीहरुलाई नै दिने खालका निर्णय गर्न केन्द्रीत देखिन्छ । आफ्नो देशमाभविश्य नदेखेपछिहरेक दिन १५ सयदेखि २२ सयभन्दा धेरै नेपाली युवाहरु विदेशीने गरेका छन् । यस्तोमा गैरकानुनी बाटोबाट विदेश पलायन हुनेहरुको संख्या पनि उत्तिकै छ ।

आर्थिक स्थिति सुधार गर्न र परिवार पाल्नकै लागि पनि उनीहरु विदेशिनुपर्ने वाध्यतामा छन् । गएको वर्षभन्दा यो वर्ष झण्डै २३ प्रतिशतको हाराहारीमा रेमिट्यान्स भित्रिएको तथ्यांकले पनि विदेशीने युवाहरुको लर्को थप बढ्दो छ भन्ने छलंग बनाईदिएको छ । विदेशीने युवाहरुको जमात जति बढ्दो छ, वैदेशिक रोजगार पनि त्यति नै असुरक्षित बन्दै छ । हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका लासका बाकसहरुले यो कुरालाई प्रष्टीकरण दिएको छ । वैदेशिक रोजगार सुरक्षित र सम्मानित हुन नसकेकोमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री आफैं पनि स्वीकार्छन् ।

नेपाली युवाहरुको मुख्य गन्तव्य नै वैदेशिक रोजगार बनिरहँदा त्यससँग सम्बन्धित कम्पनीहरुमा भने बेथितिको चाङ चुलिएको छ । नेपालीहरुको विदेशीनुपर्ने बाध्यता र परिस्थितिलाई बुझेका वैदेशिक रोजगार कम्पनीले यसैलाई कमाई खाने भाँडो बनाइरहेका छन् । राज्यले श्रमका लागि अनुमति दिँदै नदिएको देशमा पनि नेपालीहरु धमाधम पुगिरहेका छन्, त्यसमा पनि मोटो रकम बुझाएर । पछिल्लो समय म्यानपावर कम्पनीहरुबाट युवाहरु ठगिने क्रमसमेत बढेको छ ।

कागजात शंकास्पद देखिएपछि त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले बुधबार वैदेशिक रोजगारका लागि कुवेत हिडेका ११७ नेपाली श्रमिकलाई विमानस्थलबाटै फर्काएको घटना पछिल्लो एक उदाहरण हो । गत आईतबार पनि जोर्डन जान लागेका १५ महिलालाई अध्यागमनले रोकेको थियो । गलामा खादा र माला लगाएर श्रमका लागि गन्तव्य मुलुक हिडेका नेपालीहरु यसरी बिच बाटै फर्कनु परेको घटनाहरु कैयन छन् । अध्यागमनले अध्यागमन कार्यालयबाट कानूनभन्दा बाहेक नै अनावश्यक दोषारोपण सहित जान नदिई फर्काउने गरेको वैदेशिक रोजगार व्यवसायी संंघको आरोप छ ।

वैदेशिक रोजगारीमा जाने सही बाटो र सही तरिका पहिचान गर्न नसक्दा २० हजार जना ठगीमा परेको मुद्धा अदालतमै छ । त्यसैले वैदेशिक रोजगार कम्पनीलाई ठगी धन्दाको रुपमा पनि बुझ्नु पर्ने बाध्यता आई परेको छ । एकातिर वैदेशिक रोजगार लथालिंग बनिरहेको छ भने अर्कोतर्फ त्यस्ता कम्पनीहरु च्याउ सरी उम्रिएका छन् ।

सरकारलाई वैदेशिक रोजकार सुरक्षित छैन भन्ने थाहा छ तर, कसको दवाव वा प्रभावमा परि दुई वर्षमा सय जनालाई पनि विदेश पठाउन नसक्ने कम्पनीलाई स्वीकृत थप्ने काम मन्त्रिपरिषद्बाटै भईरहेको छ । रोजगार कम्पनीको मनपरीतन्त्र थप बढ्दै जाँदा विदेशमा गएर केही आर्थिक उपार्जन गर्ने सपना देखेका युवाहरु भने निराश बन्न बाध्य छन् । ठगी धन्दा चलाएर बसेका कम्पनीहरुलाई प्रश्रय दिने काम सरकारबाटै हुँदा युवावर्गमा सरकारप्रतिको असन्तुष्टि बढ्दो छ ।