Breaking

आरजुको फुर्तिफार्ति,अमरेशसँग किन भयो लडाइँ ? देउवाको सेन्सर बन्दा काँग्रेसमा भाँडभैलो, अदालतमा उजुरी


काठमाडौँ — नेपाली कांग्रेसकी सांसद तथा सभापति शेरबहादुर देउवाकी पत्नि आरजु राणा देउवाले ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना माग गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध काठमाडौं जिल्ला अदालतमा गालीबेइज्जती मुद्दा दर्ता गराएकी छिन् । क्षतिपूर्तिसहित मुद्दा लड्दा लाग्ने खर्चसमेत दिलाउनुपर्ने माग आरजुको छ । आखिर आरजु र अमरेशबीचको टकराव के हो त ? नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले गुनासो लिएर पुग्ने अधिकांश नेता–कार्यकर्तालाई भन्ने गर्छिन, ‘राणाकी छोरी हुँ, अलिअलि शासकीय गुण त भइहाल्छ नि ।’

आरजुकै जंगी शासनका कारण चुनावमा टिकट नपाएकोदेखि नियुक्तीसम्म नपाएको गुनासोलिएर काँग्रेसमा असन्तुष्ट बन्ने वा विद्रोह गर्नेको संख्या व्यापक छ । महामन्त्रीद्वय पनि बेलाबेला काँग्रेसमा भाउजु प्रवृत्ति हाबी भएको भन्दै सार्वजनिक गुनासो ओकल्ने गर्छन् ।देउवाको ‘सेन्सर’का रुपमा काम गर्दै आएकी आरजुले पार्टीभित्र हस्तक्षेप र निषेधकारी भूमिका खेल्दै सिन्डीकेट लादेको सार्वजनिक आरोप नै लगाएर धेरै नेताले विद्रोह गरेका छन् । त्यसमध्येका अमरेशकुमार सिंह सबैभन्दा विद्रोही अनुहार हुन् । उनले आरजुलाई लक्ष्मीदेवीदेखि गणतन्त्रको पम्फादेवीसम्मका आरोप लगाएका छन् ।

गत बैशाख १० गते प्रतिनिधिसभा वैठकमै अमरेशले आरजुलाई पम्फादेवीको संज्ञा दिएका हुन् ।पञ्चायतकालमा रानी एश्वर्य शाहलाई पम्फादेवी ठकुरी भनिन्थ्यो । राजाको शासनकालमा रानीले भ्रष्टाचार गरिन् भन्न नमिल्ने भएकै कारण त्यो बेला ‘पम्फादेवी ठकुरी भ्रष्टाचारमा संलग्न’ भन्दै प्रचारहरु सार्वजनिक हुन्थे । अहिले गणतन्त्र आएपछि सबैभन्दा धेरै शासनसत्ता सम्हाल्ने देउवाकी पत्नी आरजुलाई पनि अमरेशले पम्फादेवीकै नामाकरण गरेका हुन् । तर यसले आरजुलाई चिटचिट पोलेको छ । अमरेशले धेरै सताएको भन्दै न्याय माग्न आरजु उजुरी बोकेर अदालतसम्म पुगेकी छिन् ।

आरजु र अमरेशबीचको द्वन्द्व धेरै लामो होइन । कुनैबेला सत्ता र शक्तिका लागि अमरेशकुमार सिंह निर्णायक नेता थिए ।काँग्रेसमा गिरिजाप्रसाद कोइराला र सुशिल कोइराला पार्टी सभापति हुँदै प्रधानमन्त्रीसम्म हुँदा अमरेशले एकछत्र राज गरेका थिए ।दिल्लीसँग सिधा सम्पर्क स्थापित गर्न अमरेशको खोजी हुन्थ्यो । दिल्लीले पत्याएको एक भरपर्दाे नेता अमरेश सिंह हुन् । तर जब काँग्रेसको नेतृत्वमा शेरबहादुर देउवा आए अमरेशले चाहँदाचाहँदै पनि उनी देउवाको विश्वासिलो पात्र बन्न सकेनन् । त्यसको बाधकका रुपमा आरजु पहाड बनेर उभिएकी थिइन् ।

पार्टीको जिम्मेवारी हुँदै अमेरशलाई टिकटबाट समेत बञ्चित गर्न थालिएपछि उनी विद्रोहमा गएका हुन् । पछिल्लोसमय महामन्त्री गगन थापासँग केही निकट देखिएपनि आरजुको अवरोधकै कारण अमरेश निषेधमा परे । गत मंसिरमा सम्पन्न निर्वाचनमा पनि उनी सकभर काँग्रेसबाटै चुनाव लड्न चाहन्थे । तर अमरेशको निर्वाचन क्षेत्र सर्लाही चारमा गगन थापालाई टिकट दिएर पठाउने तयारी भएपछि उनी स्वतन्त्र भएर चुनाव लडे ।

काँग्रेसभित्र आरजुकै कारण स्थान नपाएका उनी अहिले एक स्वतन्त्र सांसदको हैसियतमा संसदमा छन् । काँग्रेसभित्रको विकृतिविरुद्ध बोल्दै आएका उनी स्वतन्त्र भएपछि भण्डाफोरमै उत्रिएका छन् । पछिल्लो समय संसदमै लुगा खोलेर अर्धनग्न भएका अमरेशको तारो काँग्रेस नेतृ आरजु नै बनेकी छन् । फलतः बद्नामीको छिटा बोकेर एक्लै भिडिरहेकी आरजु गालीबेइज्जतीको मुद्दा लिएर अमरेशविरुद्ध अदालत गएकी हुन् ।

आरजुको फुर्तिफार्ति र उनको नाटकीय शैली काँग्रेसभित्र धेरैले मन पराएका छैनन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मोटो रकम आरजुलाई बुझाएको अडियो सार्वजनिक भएपछि उनी थप आलोचित बनेकी छन् । गाउँपालिका अध्यक्षको टिकटदेखि केन्द्रीय सांसद र मन्त्री बन्न आरजुलाई पैसा बुझाउनै पर्छ भन्ने मान्यता काँग्रेसभित्र जबर्जस्त बन्दै गएको देखिन्छ । काँग्रेसबाट भर्खरै छुट्टीएर रास्वपाबाट सांसद जितेका डा. स्वर्णिम वाग्लेले पनि आरजुलाई ‘महाभ्रष्ट’ महिलाकै संज्ञा दिएका थिए ।तथापी पार्टीको जिम्मेवारीका हैसियतले उनी एक केन्द्रीय सदस्यमात्रै हुन् । देउवा समानुपातिकबाट संसदमा समेत छिराएका छन् ।

फलतः सभापति देउवाले आरजुको सहमतिबिना निर्णय लिन नसक्ने भएकै कारण शक्तिको दुरुपयोग भएको भन्दै अमरेश–स्वर्णिम लगायतले काँग्रेस छोडेको दाबी गर्दै आएका छन् ।तथापीआरजु–अमरेश दुबैजना नेपाली राजनीतिमा उदण्डको प्रतिक जस्ता छन् ।