Breaking

सदन खुलाउने बारेमा प्रधानमन्त्रीले ओली र देउवासँग छलफल गर्दै


काठमाडौँ – सदनको अवरोध खुलाउने पहल स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दैछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा हुन लागेको छलफलमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बोलाइएको छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।

तर सदनको अवरोध खुलाउन पहल नगरेको आरोप प्रधानमन्त्रीमाथि लाग्दै आएको बेला उनले छलफल गर्न लागेका हुन् । एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडानमा अहिलेसम्म कायम रहेकाले आजको छलफलबाट निकास निस्किने सम्भावना भने देखिएको छैन ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आजको संसद बैठकमा पनि विरोध जारी राख्ने बताए ।

सरदार प्रितम सिंहको बारेमा उनकी छोरी दीप सन्धुले लेखेको ‘रोड्स टु द भ्याली’ पुस्तकको यही असार १८ गते काठमाडौँमा आयोजित विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विवादास्पद अभिव्यक्ति दिएका थिए । त्यसयता एमाले, रास्वपा र राप्रपाले सदनमा अवरोध गर्दै आएका छन् ।

गत शुक्रबार बस्ने तय भएको प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको थियो ।