Breaking

पहिराले ठाउँ-ठाँउँमा सडक अवरूद्ध


काठमाडौँ – वर्षासँगै आएको बाढी र पहिराका कारण बागलुङ-कुश्मीशेरा सडक अवरुद्ध भएको छ ।

बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो ।

सोमबार रातिदेखि सुरू भएको वर्षासँगै दव्ल्याङमा पहिरो खसेको हो। तीन वर्षअघिदेखि सुरु भएको पहिराले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको थियो। आइतबारको वर्षापछि पहिराले उक्त सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।

सदरमुकाम बागलुङ बजारबाट बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका चल्ने सवारी सडक अवरूद्ध हुँदा मर्कामा परेका छन् । सडक अवरुद्ध भएपछि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाटो हुँदै गन्तव्यमा पुग्न सवारीसधानले प्रयास गरिरहेका छन् । तर सोही पहिराका कारण करिडोरसमेत अवरूद्ध छ ।

पहिरो पन्छाउन नसक्दा पाँच दिनदेखि यातायात ठप्प
पहिरो पन्छाउन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात सञ्चालन हुनसकेको छैन । जिल्लाको पहाडी क्षेत्रका लागि यातायात सञ्चालन हुने मुख्य सडक मार्गको ठाउँ-ठाउँमा पहिरो खसेर यातायात पूर्णरूपमा अवरुद्ध भएको हो ।

दलदले–कुसोत–पोखरी खण्डअन्तर्गत कुमसोत-पोखरी खण्डमा खसेको पहिरो पन्छाउन नसक्दा यातायात सञ्चालनमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद पौडेलले बताए ।

अविरल वर्षाका कारण विभिन्न खण्डमा पहिरो खसेसँगै गत बिहीबारदेखि सदरमुकामसँग नवलपुरको पहाडी क्षेत्रको यातायात सम्पर्क पूर्णरूपमा टुटेको छ । जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने पालिका बौदीकाली, बुलिङटार र हुप्सेकोटका केही क्षेत्रका लागि मुख्य मार्गका रूपमा रहेको खण्डमा पहिरो खसेपछि ती क्षेत्रमा कुनै सवारी सञ्चालन हुनसकेका छैनन् ।

पहिरो पन्छाउने प्रयास गरिएको भए पनि पानी पर्ने र पहिरो झर्ने क्रम नरोकिँदा समस्या भएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । ‘पहिरो पन्छाउन निरन्तर प्रयास भइरहेको छ, तर विभिन्न क्षेत्रमा धेरै पहिरो खसेको छ, पानी पर्ने र पहिरो झर्ने क्रम पनि रोकिएको छैन, यसैले पहिरो पन्छाउन समस्या भएको छ’, उनले भने ।

दलदले–कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पाङ्गे्र र पोखरी खण्डमा खसेको पहिरो हटाउन समस्या भएको उनले बताए । पोखरीबाट डेढगाउँ जाने खण्डमा समेत यातायात सञ्चालन हुनसकेका छैनन् ।

पहाडी क्षेत्रको मुख्य मार्गका रूपमा सडकखण्ड बन्दा भएसँगै पहाडी क्षेत्रका बासिन्दालाई सदरमुकाम आउनसमेत समस्या भएको छ। पहिराले बाटो बन्द भएपछि जिल्लाको सदरमुकाममा कुनै अत्यावश्यक काम परे डेढगाउँ-भिमाद-खैरेनी-मुग्लिङ-नारायणगढ हुँदै घुमेर आउनुपर्ने बाध्यता सिर्जना भएको बौदीकाली-५ बबकका स्थानीय गेसबहादुर श्रेष्ठले बताए ।

पहाडी क्षेत्रका लागि विकल्पको मार्गका रूपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैंडाकोट–बुलिङटार खण्डसमेत पहिराले अवरुद्ध हुँदा थप समस्या सिर्जना भएको उनको भनाइ छ । जिल्लाको पहाडी क्षेत्रका बासिन्दालाई वर्षायाममा कुनै समस्या परे कावासोती आउने बाटो बन्द हुने हुँदा भिमाद, खैरेनी पुग्नुपर्ने बाध्यता छ ।

नवलपुरको पहाडी क्षेत्रमा बर्सेनि वर्षायाममा बाटो पहिराले बन्द हुँदा यस क्षेत्रका बासिन्दा समस्यामा पर्ने गरेका छन् । जिल्लाको सदरमुकाम जोड्ने मूल सडकखण्डको समयमै स्तरोन्नति हुन नसक्दा समस्या सधैं उस्तै रहेको बुलिङटारका स्थानीय टोलबहादुर रानाले बताए ।