Breaking

गण्डकी र लुम्बिनीमा अति भारी वर्षा, तिनाउको बाढीले खतराको तह पार गर्‍यो


काठमाडौँ – मनसुनी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ र आसपासका जिल्लामा अति भारी वर्षा भएको छ । उक्त स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम छ । त्यसैले आज दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

मौसम विज्ञान विभागका अनुसार स्याङ्जाको कुमालगाउँ, दाङको कोइलाबास, अर्घाखाँचीको खाँचीकोट, पाल्पाको बल्ड्याङगढी, नवलपुरको देउराली, लम्जुङको खुदीबजार, पाल्पाको तानसेन र जितपुर केन्द्रमा अति भारी वर्षा मापन भएको छ । यीमध्ये २४ घण्टाको अवधिमा पाल्पाको बल्ड्याङगढीमा सबैभन्दा धेरै २२७।६ मिलिमिटर वर्षा मापन भएको छ ।

तिनाउको बाढीले खतराको तह पार गर्‍यो

महाशाखाका अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतराको तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।

तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानहरुमा आज बिहान ९ बजेसम्म सुरक्षित स्थानमा रहन सूचना जारी गरिएको छ ।
अन्य स्थानका नदी तथा खोलाहरुमा भने जलसतह खतराको तहभन्दा तलै छ ।
मौसमविद गंगा नगरकोटीका अनुसार अहिले देशैभर बादल लागिरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

काठमाडौँ उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा आज राम्रो घाम लाग्ने सम्भावना नरहेको मौसमविद नगरकोटीको भनाइ छ । ‘एकछिन रोकिए पनि फेरि वर्षा हुने हुन्छ,’ उनले भनिन्, ‘आज राम्रो घाम लाग्ने सम्भावना छैन ।’

आज दिउँसो कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा तथा राति कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले क्षतिबाट बच्न सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।