Breaking

सम्झनामा गिरिजा, खतरामा लोकतन्त्र, प्रचण्डले खोजे कांग्रेसीहरुको साथ


काठमाडौँ — नेपाली राजनीतिका शिखर पुरुषका रुपमा चिनिने गिरिजाप्रसाद कोइरालाको जन्म भएको ठ्याक्कै एक सय वर्ष पुगेको छ । जन्म सताब्दीकै अवसरमा नेपाली राजनीतिक ईतिहासमा उनको फेरि एक पटक स्मरण गरिएको छ । तत्कालिन शसस्त्र माओवादी युद्धलाई शान्तिपूर्ण राजनीतिमा परिणत गर्न होस् या प्रजातन्त्र प्राप्तीका लागि कोइरालाको ठूलो योगदान छ । नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाको नाम नसुन्ने प्राय कमै होलान् ।

नेपाली राजनीतिका शिखर पुरुषका रुपमा चिनिने उनै कोइराला कृष्ण प्रसाद कोइरालाको कान्छा छोराको रुपमा १९८१ साल असार १८ गते जन्मिएर २०६६ साल चैत ६ गते स्वर्गारोहण भए । निक्कै कठिन राजनीतिक आरोह र अवरोह खेप्दै प्रजातन्त्र प्राप्तीका लागि संघर्ष गरेका कोइरालाको सोमबारजन्म सताब्दी मनाईएको छ ।गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण भुमिका खेलाका उनले मुुलुकमा पाँच पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएर काम गरे ।

उनले तत्कालिन विद्रोही शक्ति नेकपा माओवादी समेतलाई शान्तिपूर्ण राजनीतिमा ल्याए । शशस्त्र विद्रोहका कमाण्डर एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत शान्ति प्रक्रिया र गणतन्त्र स्थापनाका लागि कोइरालाको महत्वपूर्ण देन भएको पटक–पटक भन्दै आएका छन् । तत्कालिन प्रधानमन्त्री कोइरालाकै सुझपुझपूर्ण निर्णयले मुलुकमा शान्ति स्थापना भएको भन्न प्रचण्ड पछि हट्दैनन् । बरु उनले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएकोमा बारम्बार पछुतो मान्दै आएका छन् । जन्म सताब्दीको अवसरमा भएको कार्यक्रममा पनि प्रधानमन्त्री प्रचण्डले कोइरालाको वर्णन गरेर थाकेनन् ।

२०४६ सालपछिको २० वर्षे नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाको निक्कै ठूलो भूमिका रह्यो । कोइराला बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि पटक–पटक नेपालको प्रधानमन्त्री बन्न सफल भए भने १० वर्षे सशस्त्र युद्धमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा १२ बुँदे सम्झौता र दोस्रो जनआन्दोलनको सुत्रधार नै बने । कोइरालाले आफू हारेर भए पनि द्वन्द्वले आक्रान्त मुलुकमा शान्ति स्थापनाका लागि साहसिक कदम उठाएको माओवादीकै बोली जगजायर छ ।नेपाली कांग्रेसले समेत कृष्णप्रसाद भट्टराईपछि गिरिजाप्रसाद कोइरालालाई आदर्श नेताको रुपमा मान्न थालेको छ । नेपाली कांग्रेस पार्टी निर्माण र युद्धरत पक्षलाई समेत शान्तिपूर्ण राजनीतिमा ल्याएर देशकै नेतृत्व गर्ने व्यक्तिलाई नसम्झिरहन नसक्ने कांग्रेस नेताहरु बताउँछन् ।

सर्वसाधारण नागरिकको हकमा मृत्युपर्यन्त जन्मदिनलाई खासै स्मरण गरेको पाइँदैन । तर मृत्यु भएको तिथिलाई श्राद्ध वा आ–आफ्नै रीतिरिवाज अनुसार स्मरण गरिंदै आएको पाइन्छ । युगपुरुषहरूको भने जन्म र मृत्यु दुवै मितिमा स्मृतिको गाथा गाउने गरिन्छ । गिरिजाप्रसाद कोइराला पनि त्यस्तो व्यक्तित्व हुन् जसले आफ्नो जीवनकालभरि कालो झण्डा र विरोधको सामना गर्नु परिरह्यो ।

तर मृत्युपर्यन्त उनले जति प्रशंसा र सम्मान प्राप्त गर्ने अवसर शायदै अरु व्यक्तिलाई प्राप्त भयो होला । नेपालको इतिहासमा गिरिजाप्रसाद कोइरालालाई निडर र निर्भीक नेताका रूपमा चिनिन्छ । सहमति, सहकार्य र एकताका सूत्रधारको रुपमा चिनिएका कोइरालाको, मुलुकमा शान्ति स्थापना गर्दै प्रजातन्त्रको जग बलियो बनाउनमहत्वपूर्ण भूमिका रहेको तथ्य इतिहासमा दर्ज भइसकेको छ ।