काठमाडौँ – लुम्बिनी प्रदेश सभाको आजको बैठकमा बजेटमाथि छलफल हुने भएको छ ।
लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पेश गरेको बजेटमाथि आज छलफल हुन लागेको हो । जसका लागि आइतबार प्रदेशसभा बैठक बस्दैछ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले असन्तोष जारी गरेको तथा सत्ता पक्षीय सांसद समेत असन्तुष्ट रहेको बेला प्रदेशसभा चल्नेमा भने अझै आशंका कायमै छ । नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटबारे आन्तरिक सहमति नजुट्दा बजेट पेश भएको दुई साता नाघिसक्दा पनि त्यसमाथि अझै पनि छलफल सुरु हुन सकेको छैन ।
जसका कारण बजेटमाथि सांसदहरूको औपचारिक धारणा बाहिर आउन सकेको छैन ।
पूर्वनिर्धारित कार्यसूची अनुसार गत असार १० गतेबाट बजेट माथि छलफल सुरु गर्ने भन्दै बैठक आव्हान गरिएको भए पनि विवाद नसल्टे पछि सूचना टाँसेर स्थगित गरिएको थियो । गत असार १ गते अर्थमन्त्री धनबहादुर मास्केले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेस गरेका थिए ।
प्रतिक्रिया