Breaking

नेतालाई मस्ती, किसानलाई सास्ती, रोपाईमा पनि राजनीति


काठमाडौँ — असार १५ अर्थात धान दिवस आम कृषका लागि आफैमा उत्सव हो, पर्व हो । मानो खाएर मुरी उब्जाउने असारमा कृषकहरु खेतमा व्यस्त हुनै प¥यो । तर असार १५ अर्थात धान दिवसमा भने शीर्ष नेताहरुदेखि मन्त्रीसम्म खेतमा भेटिन्छन् । यो वर्ष पनि पूर्वप्रधानमन्त्री के.पी शर्मा ओलीदेखि बहालवाला मन्त्रीहरुसम्म रोपाईमा व्यस्त देखिए । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष के.पी शर्मा ओली पत्नी राधिका शाक्यसहित धान रोप्न खेतमा देखिए ।

चितवन पुगेर रोपाइँमा सहभागी भएका उनले हात र मेसिनबाट धान रोपे । गमबुट लगाएर हिलोमा पसेका ओलीलाई केहीले यसरी हो धान रोप्ने भनेर सिकाउँदै थिए भने केहीले धानको बिरुवा हातमा थमाउँदै थिए । दृश्य देख्दा जो कोहिलाई पनि लाग्थ्यो, उनी कहरले होइन, रहरले असार १५ को हिलोमा पसेका हुन् । कृषिमन्त्री वेदुराम भुसालले पनि खुमलटारमा पुगेर धान रोपाई गरे । कृषि विभागको आयोजनामा खुमलटारस्थित कृषि अनुसन्धान परिषद् परिसरमा आयोजित रोपाइँ महोत्सवमा मन्त्री भुसालले ट्याक्टरमार्फत धान रोपाई गरेका हुन् ।

पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेर धान रोपाई गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा नेताहरु पनि धान दिवसको अवसरमा रोपाईमा सहभागी भए । अरु दिनहरुमा हिलो देख्ने वित्तिकै १ मिटर परबाटै खुट्टा उचाल्ने शीर्ष दलका शीर्ष नेतादेखि नयाँ पुराना सबै पार्टीका नेता कार्यकर्ता हरेक वर्षको असार १५ गते भने खेतको हिलोमा देखिन्छन् ।

कृषि र कृषकको वकालत गरेर नथाक्ने तर समस्या सम्बोधन गर्न नसक्ने नेता र नेतृत्वले वर्षको एक दिन खेतबारीमा खुट्टा टेकेर बचनवद्धता पनि दिन्छन् । यो पटकको धान दिनवसमा कृषिमन्त्री बेदुराम भुसाल पनि रहर पुरा गर्नकै लागि बाजागाजासहित खेतको हिलो टेक्न पुगे । नेताहरु रमाईलोका लागि खेतको हिलो टेक्न पुग्दा कृषि प्रधान देश नेपालको हालत भने कहल्यिै सुधारिन सकेन । अझ भनौँ यसअघि खेतीपाती हुँदै आएको १० लाख ३० हजार हेक्टर जमिन अहिले बाँझोमा परिणत भएको स्वयं कृषीमन्त्री भुसाल नै स्वीकार्छन् ।

यसअघिका वर्षहरुमा पनि नेताहरु आफ्ना कार्यकर्ता बोकेर रहर पुरा गर्नकै लागि १५ असारको दिन धान रोपेको फोटो खिचाउन पछि परेनन् । केही वर्षअघि पूर्व कृषिमन्त्री हरिबोल गजुरेलले धान दिवसको अवसरमा गमलामा धानको विरूवा रोपेर आलोचनाको पात्र नै बने । ललितपुरस्थित नेपाल कृषि अनुसन्धान परिषदमा आयोजना गरिएको एक कार्यक्रममा उनले गलैँचा माथि राखिएको गमलामा धानको बिरुवा रोपेको विषय अहिले पनि चर्चाकै केन्द्रमा छन् ।

चालु आर्थिक वर्षको जेठसम्म नेपालमा २९ अर्ब १९ करोड १८ लाख ९८ हजार रुपैयाँको धान, चामल र कनिका नेपाल आयात भएको छ । यो तथ्यांक कृषि प्रधान देश भनेर चिनिने नेपालका लागि दुर्भाग्य हो । असार १५ को यो उत्सवमा शीर्ष नेता नेतृत्व सहभागी हुनु आफैमा सकरात्मक पक्ष हो ।

तर कृषि प्रदान मुलुकको नारा लगाएर कहिल्यै नथाक्ने, मललाई राजनीतिक अस्त्र बनाएर चुनाव जित्ने, कृषकको समस्या बुझ्न नसक्ने उनीहरु वर्षको एक दिन खेतको हिलोमा देखिनु नाटक र नौटंकीदेखि सिवाय अरु केही नभएको किसानहरुको दुखेसो छ ।