Breaking

कोशी प्रदेशका मुख्यमन्त्री पोखरा भेलामा सहभागी नहुने


काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की गण्डकी प्रदेश सरकारको अगुवाइमा शुक्रबार हुने सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेलामा सहभागी नहुने भएका छन्।

बिहीबारदेखि नै प्रदेशसभामा विश्वासको मत लिनका लागि बैठक चलिरहेका कार्की पोखरामा नजाने भएका हुन्।
मुख्यमन्त्री कार्कीको सचिवालयले विश्वासको मतको कार्यक्रम सकिएमा पोखरा जाने सम्भावना भने रहेको बताए।

दोस्रो पटक हुन लागेको भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले गर्ने गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले बताइन्

संघीय सरकार र मुख्यमन्त्रीहरूबीच भेलामा अन्तरक्रिया हुनेछ। यो भेलामा अन्तरप्रदेश अनुभव आदानप्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारसहितका विषयमा कुरा हुँदैछ।

मुख्यमन्त्रीहरुको भेला दोस्रोपटक हुन लागेको हो। यसअघि २०७५ भदौ २१ र २२ गते गण्डकीकै तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा पहिलोपटक मुख्यमन्त्रीहरूको भेला भएको थियो। त्यस बेला आठबुँदे घोषणापत्र पनि जारी भएको थियो।

यो भेला यसअघि गत जेठ १० गते गर्ने गर्न लागिएको थियो। तर प्रधानमन्त्री प्रचण्डले व्यस्त भएको बताएपछि रोकिएको थियो।