Breaking

निम्तिदै छ बालेन रविको भिडन्त, रविमाथि उठ्यो प्रश्न, हर्कको सारथी बालेन


काठमाडौँ — परम्परागत दलबाट आजित बनेर राजनीतिमा आएका नयाँ अनुहारहरु नै प्रतिष्पर्धी बनेका छन् । विकल्पहरु एकै ठाउँमा उभिनु पर्ने जन अपेक्षाकै बीच समाजले उनीहरुलाई हेर्ने दृष्टिकोण भने मिश्रित बनेको छ । सामाजिक सञ्जालबाट चर्चा बटुल्दै राजनीतिमा उदाएका नयाँ अनुहार अहिले सामाजिक सञ्जालमा नै प्रतिष्पर्धी जस्तै बनेका छन् । देशका दुई ठूला शहरमा स्वतन्त्रबाट मेयर बनेका काठमाडौँ महानगरपालिकाका बालेन्द्र साह बालेन, धरान उपमहानगरपालिकाका हर्क साम्पाङ राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत नयाँ शक्तिलाई जमातले विभिन्न कोणबाट हेर्ने गरेका छन् ।

यी तीनमध्ये को उत्कृष्ट भन्नेमा समाज विभाजित देखिन्छ । बालेनलाई गफ नगरी काम गर्ने व्यक्तिमा अथ्र्याएको छ भने हर्कलाई काम र कुरा दुवै गर्नेमा चित्रण गर्दा रविलाई भने काम नगर्ने तर गफ मात्रै चुट्ने नेताको भाष्य निर्माण गरिएको छ । स्वतन्त्र व्यक्तिले काठमाडौँ, धरान जस्ता ठूला सहरमा काम गरेर देखाउदा पार्टी नै खोलेर राजनीतिमा लागेका रविले खासै उपलब्धि गर्न नसकेको भन्दै उनको आलोचना हुन थालेको छ । तर आकर्षित व्यक्तित्वलाई नै आकर्षण बनाएर पार्टीको शक्ति सञ्चयमा लागेका रवि भने आफूहरुलाई भिडाएर पुराना पार्टीहरुले फाईदा लिन खोजिरहेको अभिव्यक्ति दिने गरेका छन् ।

रविको यस्तो अभिव्यक्ति आईरहँदा नयाँ अनुहारले देखाउने गतिविधि भने केही फरक भेटिन्छ । बालेन हर्कको सारथी बन्दै गर्दा रविप्रति कटाक्ष प्रहार हुने गरेको छ । काठमाडौंका मेयर बालेनले लामिछानेप्रति कटाक्ष पोख्दे कहिले भ्रष्टाचारविरुद्धको आन्दोलनमा सामेल हुँदा नीति बनाउन दिएको भोट सडक नाटक गर्न होइन भन्छन् भने कहिले नयाँ पुराना सबै नेता चोर हुन् भन्न भ्याउँछन् । तर, रविले भने बालेन र हर्कको लोकप्रियतालाई देखेर पार्टी स्थापनाको एक वर्ष पुगेकै दिन पार्टीमा आउन आह्वान गरेका छन् । तर, अहिलेसम्म विचार र सिद्धान्त स्पष्ट पार्न नसकेको रास्वपाले विकल्पलाई बाध्न लालायित देखिए पनि उनीहरुको मिलन भने त्यति सहज छैन ।

बालेन र हर्कको जितले देशको विभिन्न स्थानमा घण्टी बज्दा रविको क्रेजले पुराना पार्टीलाई झट्का दिएको यथार्थ हो । विश्लेषक र सामाजिक सञ्जालमा रवि, बालेन र हर्कलाई विभिन्न ढंगले विभाजित गरिरहे पनि यी तीनलाई एकै ठाउँमा भएको हेर्न चाहाने जमात पनि ठूलै छ । २०८४ लाई मिसन बनाएको रास्वपाले चर्चित अनुहारलाई पार्टी भित्र्याई रहँदा परम्परागत पार्टीबाट वाक्क बनेको आम नागरिक अहिल्यै देखि एक ठाउँमा उभिन सके ठूला दलहरुलाई बढार्न सहज हुने जनअपेक्षा पनि उत्तिकै छ ।