Breaking

भारतीय प्रहरीको गोली प्रहारबाट सर्लाहीका २ युवाको मृत्यु, चार गम्भीर घाइते


काठमाडौँ – भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट सर्लाहीका दुई युवाको मृत्यु भएको छ । अन्य चार जना गम्भीर घाइते भएका छन् ।

गोली प्रहारबाट सर्लाहीको लालबन्दी नगरपालिका २ पुनर्बासका दुई युवाको मृत्यु भएको हो । स्रोतका अनुसार भारतीय प्रहरीको गोली लागेर मारिने युवा लालबन्दी २ पुनर्वासका राजेश पासवान र रुमाले पासवान हुन् । उनीहरु दुवै झण्डै ४५ वर्ष उमेरका छन् । घटनामा प्रहरीको गोली लागेर पुनर्वासकै अन्य चार युवा पनि गम्भीर घाइते भएका बताइएको छ । तर, उनीहरूको नाम खुलेको छैन ।

नेपालको प्रहरीले भने मृतक र घाइतेको विषयमा आधिकारिक जानकारी दिएन । गएको आइतबार राति बारा जिल्ला नजिकै पर्ने भारत पूर्वी चम्पारणको घोडासहन क्षेत्रमा भारतीय सुरक्षाकर्मीले गोली चलाएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी होविन्द्र बोगटीले डकैतीमा संलग्न समूहमाथि भारतीय प्रहरीले गोली चलाएको बताए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दिपेन्द्र पंजियारले घटनाको विषयमा आफूले सामाजिक सञ्जालमा सुनेको बताए ।

डकैती गर्ने समूहले गोली चलाएपछि जवाफी कारवाही गरेको भारतीय प्रहरीको दाबी छ । डकैती हुँदैछ भन्ने खबर पाएर घटनास्थल पुगेको सुरक्षाकर्मीको टोलीले घेरा हालेपछि लुटेरा समूहले गोली प्रहार गरेको उसले बताएको छ ।

उक्त समूहको गोली लागेर ३ जना भारतीय सुरक्षाकर्मी पनि घाइते भएका बताइएको छ । भारतीय सुरक्षाकर्मीले डकैतीमा संलग्न अन्य डेढ दर्जन जति मानिस नेपालतर्फ भागेको जानकारी बताएका छन् । पुनर्वासका स्थानीय एक युवाले नाम नबताउने सर्तमा आफ्नो गाउँका दुई युवा भारतमा मारिएको पुष्टि गरे ।