Breaking

सरकार ढाल्दै काँग्रेस,प्रचण्डका दिनगन्ती शुरु, शेखर–गगन सक्रिय बन्दा ओली–देउवा मिले, माधव आक्रोशित


काठमाडौँ — सत्ता गठबन्धनको नेतृत्व गरिरहेका काँग्रेस सभापति शेरबहादुर देउवा देशबाहिर रहँदा प्रधानमन्त्रीले मोर्चाबन्दीको घोषणा गरे । जसले गठबन्धनको पहिलो शक्ति काँग्रेस झस्किएको छ । प्रमुख प्रतिपक्ष एमाले यसैलाई अवसर बनाएर सत्तासँग खेल्न खोज्दैछ । तर देउवाका चाल्ने कदममा सबैको नजर परेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको हातमा सत्ता र भत्ता दुवै छ । ७५ बर्षका देउवाको भत्ता खाने उमेर हो । तर उनी सत्ता खाने पर्खाईमा छन् ।देउवाको सिंगापुर बसाई नै यतिबेला शंकामा परेको छ ।

स्वास्थ्य उपचार खोज्न गएका देउवाले राजनीतिक उपचार खोजेर फर्किएको संकेत पाएपछि गठबन्धनमा छट्पटी बढेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष ओली र देउवाबीच सत्ता सहकार्यको सम्भावना ओकलेका छन् । उनी झस्किएका छन्, ओलीकै तजबिजमा देउवालाई प्रधानमन्त्री बनाउने खेलो चलेकोमा माधवको आपत्ति छ ।

नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सोमबारमात्रै समाजवादी मोर्चाको घोषणा गरिएको छ । जसमा माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पनि मोर्चावन्दीमा छन् । सत्तागठबन्धनको नेतृत्व गरेका देउवाकै अनुपस्थितिमा प्रचण्ड–माधवले समाजवादी मोर्चाको घोषणा गरेका हुन् । जुन देउवालाई फिटिक्कै चित्त बुझेको छैन । किनकि समाजवादी मोर्चाको उद्देश्य तत्कालका लागि गठबन्धनभित्र पनि मोर्चाबन्दी गर्दै शक्ति बढाउने हो ।

एमाले–काँग्रेस जस्ता ठूला दललाई साइजमा राखि सत्ताको मोल बढाउने हो । प्रचण्ड–माधव र उपेन्द्र एक ठाउँमा उभिएपछि ५४ सिटको शक्ति बन्छ । यसले सत्ता राजनीतिको खेलमा प्रचण्ड अझै बलशाली बन्नेछन् । किनकि प्रचण्ड सरकारको निरन्तरताभन्दा परेको उद्देश्य समाजवादी मोर्चाको छैन । तर काँग्रेस नै बिच्किएर सत्ता गुम्ने डर मोर्चामा व्यापक बढेको छ । देउवा फर्किन नपाउँदै यता काँग्रेसकै महामन्त्री गगनकुमार थापाले चित्त नबुझे गठबन्धन नरहने सनसनीपूर्ण बयान दिएका छन्।

गठबन्धनभित्र यतिबेला बजेटको विषयलाई लिएर व्यापक मतभेद् छ ।बजेटको चलायमान भाँडो काँग्रेसकै अर्थमन्त्रीको हातमा छ । माधवसहितका नेताहरु सार्वजनिक रुपमै बजेटका विरुद्ध बोलिरहेका छन् ।ओलीसँग मिल्ने सम्भावना देखेपछि देउवालाई दलाल पुँजीवादको संज्ञासमेत दिएका छन् । जसले गठबन्धनभित्र तिक्तता ल्याउने काम गर्दैछ । ठ्याक्कै यही मतभेद्लाई अवसर बनाएर एमाले अध्यक्ष ओली खेल्न थालेका छन् । यसअघि सत्ताका सबै विकल्प सकिएपछि थन्किएर बसेका ओली अब काँग्रेसभित्र शेखरसहितका नेताहरुको प्रयोगमा अघि बढेका छन् ।

शेखरमार्फत ओलीले सत्ताको लोभ देखाइरहेका बेला देउवा पुस १० अघिको सहमति सम्झिँदै झस्किरहेका छन् । तपाईँ नै प्रधानमन्त्री हो भन्दै आश्वस्त पारेका ओलीले अन्तिममा प्रचण्डलाई प्रधानमन्त्री बनाएका थिए ।तर ओलीसँग सुनिश्चिता भए सरकारको नेतृत्व गर्न देउवा तयार रहेको सुईको बालकोट पुगिसकेको छ । एमाले पनि थिलथिलो गठबन्धन धक्का दिएकै भरमा ढल्ने भन्दैदेउवालाई प्रधानमन्त्री बनाउन तयार रहेको सन्देश दिइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गठबन्धनको प्रमुख नेता देश बाहिर रहेका बेला यता मोर्चा बनेको भन्दै सत्ता फेरबदलको सम्भावना देखिएको शुक्रबार संसदमै बोलेका थिए । किनकि यो मोर्चालाई प्रचण्डले ‘काँग्रेसलाई मार हान्न खुकुरी उध्याएको’ अर्थमा धेरैले बुझेका छन् । सिंगापुरमा हुँदा देउवाले गरेका भेटघाटलेसमेत सहज संकेत गरेको छैन ।

तर प्रचण्डलाई फर्काएर गुमेका आधि सत्ता पनि फर्काएका देउवाको हतारोमा सरकारको आयु मापन हुनेछ । सहमतिको सरसर्ती खाका हेर्दा प्रचण्डपछि प्रधानमन्त्री बन्ने पालो माधवको छ । त्यसपछि चुनावी सरकारको नेतृत्व देउवाले गर्ने भनिएको छ । तर ‘घुम्दै फिर्दै रुम्झाटारको घुमाउरो बाटोभन्दा एकै झट्कामा बालुवाटार’ पुग्न देउवालाई ओलीकै कोर्डमा पुग्नुपर्नेछ ।