Breaking

काभा नेसन्स लिग आजदेखि, नेपाल मंगोलियासँग खेल्दै


काठमाडौँ – कीर्गिस्तानको बिस्केकमा आजदेदखि काभा पुरुष भलिबल नेसन्स लिग सुरु हुँदैछ ।

जुन १८ देखि २५ सम्म हुने नेसन्स लिगमा नेपालले आज पहिलो खेलमा मंगोलियासँग खेल्दैछ ।

नेपालले मंगोलियासाग २०१८ पछि पहिलो पटक खेल्न लागेको हो । २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्समा नेपालले मंगोलियालाई पराजित गरेको थियो । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को कार्यक्रम अनुसार हुन लागेको नेसन्स लिगमा नेपालसहित कुल ७ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा घरेलु टोली कीर्गिस्तानको भने दुई टिम समावेश छन् ।

नेपालले दोस्रो खेल जुन १९ मा घरेलु टोली कीर्गिस्तानसँग खेल्नेछ भने तेस्रो खेल इरानसँग जुन २० मा खेल्नेछ । नेपालले जुन २२ मा तुर्कमिनेस्तान, जुन २३ मा कीर्गिस्तान बी टिम र जुन २५ मा उज्वेकिस्तानसँग खेल्नेछ । नेपालले यसपटक नयाँ कप्तान हरि हजुर थापाको नेतृत्वमा खेल्दैछ । नेपाली टिममा हेमन्त मल्ल , सफल विक र भीम गाहा मगर गरी तीन नयाँ खेलाडी छन् ।

काजखस्तानले पनि नखेल्ने

काभा नेसन्स लिगमा सुरुमा सेन्ट्रल एसियाका ७ टिमले खेल्ने तय थियो । तर यसअघि नै पाकिस्तानले नाम फिर्ता लियो । पाकिस्तानको स्थानमा मंगोलियाले नेसन्स लिग खेल्ने भएपछि ७ टिम नै खेल्ने तय थियो । तर अन्तिम समयमा प्रतियोगिता सुरु हुनु एक साता अघि काजखस्तानले पनि नाम फिर्ता लिएको काभाले जनाएको छ । काजखस्तानले नाम फिर्ता लिएपछि अब ६ टिमले सहभागिता जनाउने भएको छ । यद्यपि आयोजक कीर्गिस्तानले आफ्नो बी टोलीलाई पनि प्रतियोगितामा खेलाउने निर्णय गरेको हो ।

प्रतियोगिता सिंगल राउण्ड रोविनका आधारमा हुनेछ र लिग पछि धेरै अंक जोड्ने शीर्ष टोली च्याम्पियन हुने काभाले जनाएको छ । प्रतियोगिताको खेलहरु बिस्केकस्थित चोल्फन-अतामा रहेको स्पोर्ट्स एण्ड रिक्रिएसन कमप्लेक्स गाज्प्रोममा हुनेछ ।