देश

राष्ट्रियसभामा प्रचण्डमाथि प्रश्नै प्रश्न, कालापानीबाट भारतीय सैनिक हटाउने कुरा भयो कि भएन ?


काठमडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा बैठकमा आफ्नो भारत भ्रमणर अन्य समसामयिक विषयमा सांसदहरुलाई जानकारी गराएका हुन् । ५ दिनअघि जेठ २० गते सम्पन्न भारत भ्रमणबारे जानकारी गराएलगत्तै १५ जना राष्ट्रियसभा सदस्यले प्रधानमन्त्रीको जवाफका सम्बन्धमा थप प्रश्न गरेका थिए । सीमा विवाददेखि उर्जा सम्झौता र नागरिकता विद्येयक प्रमाणीकरण गर्नुपर्ने बाध्यताबारे प्रधानमन्त्री प्रचण्डसँग सांसदले प्रश्न गरेका हुन् ।

बुधबारको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण र अरु समसामयीक विषयमा जानकारी गराए । त्यसलगत्तै १५ जना सांसदले प्रधानमन्त्रीको जवाफका सम्बन्धमा थप प्रश्न गरे । बैठकमा केही सांसदले प्रधानमन्त्रीको भारत भ्रमण सफल हुन नसकेको धारणा राखे भने केहीले भ्रमणका सन्दर्भमा उठेका प्रश्नका बारेमा थप जवाफ माग गरे ।सांसद विमला राई पौड्यालले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा कूटनीतिक मर्यादाको पालना हुन नसकेको बताइन् । उनले ईपीजीको कुरा उठाउँदा माहोल बिग्रन्छ भने त्यो अचम्मको पोको के हो ? भन्दै प्रश्न गरिन् ।

राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले हाइ–लेभल सम्वादका क्रममा ईपीजीबारे कुरा नगरेको स्वीकारेका छन् । तर सम्वाद नै भएन भन्नु गलत भएको उनको तर्क छ । उनले सम्बोधनका क्रममाभने, ‘तर अरु लेभलमा गरेँ । विश्वासको राम्रो वातावरण बनाएपछि ईपीजी त कुन ठूलो कुरा भन्ने जवाफ पाएँ ।

बैठकमा सांसदहरुले भारत भ्रमणमा जानुअघि राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाउनुको कारणबारेसमेत प्रश्न गरे ।सांसद भगवती न्यौपानेले नागरिकता विद्येयक प्रमाणीकरणको विषय मात्रै होइन, भारतको चाहना पुरा गर्न फुकोट कर्णाली भारतलाई सुम्पिएको र विद्युतीय गाडीलाई निरुत्साहित र पेट्रोलबाट चल्ने साधनलाई प्रोत्साहन गर्ने बजेट सुनाएर भारत जानु राष्ट्रघाट भएको आरोप नै लगाईन् ।

प्रधानमन्त्री प्रचण्डसँग सांसदहरु लिपुलेक, कालापानी, लिम्पुयाधुरालाई बंगलादेश जाने बाटोसँग साट्न खोजिएकोबारे प्रष्ट हुन चाहे भने नेपाल भारतबीच २३ जिल्लामा सीमा विवाद रहेकोले यसबारे जवाफ मागे । नेपालीलाई भारतीय सुरक्षाकर्मीले हतियारसहित नेपाल पसेर दुःख दिँदै आएको विषयमा भारत भ्रमणका क्रममा के कुरा गर्नुभयो ? भन्दै सांसदहरुले जवाफ माग गरे । बैठकमा सांसद अनिता देवकोटाले सार्कको भविष्य के भयो ? शिखर सम्मेलन कहिले हुन्छ ?भारतीय प्रधानमन्त्रीसँग यो विषयमा कुरा भयो कि भएन । हवाइ रुटबारे के कुरा भयो ?कालापानीबाट भारतीय सैनिक हटाउने कुरा भयो कि भएन ? लगायत प्रश्न गरिन् ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको बताए । हुन बाँकि सहमतीलाई पनि बिगार्ने र नेपाललाई नै कमजोर बनाउने गरी आफ्नो भारत भ्रमणको सकिनसकि विरोध गर्ने तरिका उचित नभएको उनले तर्क गरे ।

आफूले भारतीय पक्षसँग कालापानी क्षेत्र साट्ने प्रस्ताव नगरेको, बरु बंगलादेश जाने बाटोको विकल्पबारे पनि नेपालका केही बुद्धिजीविहरुले छलफलमा ल्याएको कुरा आफूले नेपाली पत्रकारहरुसँगको कुराकानी गरेको उनले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक दुई मुलुकबीचको सीमा समस्या समाधान गर्ने भनेर दिएको सार्वजनिक अभिव्यक्ति नेपालको लागि ठूलो कुरा भएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

प्रधानमन्मन्त्री प्रचण्डको भारत भ्रमणबारे प्रतिनिधिसभा बैठकमासमेत चर्को आलोचना भयो । भ्रमणकै विषयलाई लिएर प्रतिपक्षी दलका सांसदहरुले संसद बैठक नै अवरुद्ध गरे । राष्ट्रियसभा बैठकमा पनि सांसदहरुले प्रधानमन्त्रीको भारत भ्रमणबारे खुलेरै आलोचना गरे । प्रधानमन्त्रीको भारत भ्रमणको प्रोटोकल नमिलेको, सीमा समास्या समाधानका लागि ठोस कदम अघि नबढेको लगायत आरोपसहित सत्ता पक्षकै सांसद आलोचनामा उत्रिएका छन् ।