Breaking

शाहसिक छिरिङ नाम्गेल : जसले गरे काठमाडौँबाट एकै दिनमा सगरमाथाको आरोहण

एकै दिनमा सगरमाथाको आरोहण


काठमाडौँ – सगरमाथा आरोही छिरिङ नाम्गेल शेर्पाले काठमाडौँबाट एकै दिन सगरमाथाको आरोहण गरेका छन् ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ पाङ्बोचेका छिरिङ नाम्गेल शेर्पाले शुक्रबार बिहान काठमाडौँबाट हेलिकप्टरमार्फत सगरमाथाको क्याम २ पुगेको र क्याम २ बाट हिडेर शनिबार बिहान् १० बजे ४९ मिनेटमा सगरमाथाको सफलतापूर्वक आरोहण गरेर २७ घण्टा ५७ मिनेटमा लुक्ला पुगेको शेर्पाले योहो खबरलाई जानकारी दिए ।

रेकर्डको लागि नभएर सगरमाथाको हिलरी स्टेपमा हराएको विदेशी आरोहीको उद्घार गर्न जाने क्रममा शिखर पुगेको उनले बताए । शेर्पाले अहिलेसम्म सगरमाथाको ११ पटक आरोहण गरेका छन् । सगरमाथा आरोहणको ७० वर्ष पुग्दा विभिन्न व्यक्तिले विभिन्न मितिमा कीर्तिमानी कायम गरेका छन् । तर, एकै दिनमा काठमाडौँदेखि सगरमाथाको आरोहण गर्ने छिरिङ नाम्गेल नै पहिलो हुन् ।

छिरिङ नाम्गेलले विश्वको सर्वोच्च शिखर सगरमाथा पछिको दोस्रो ठूलो हिमश्रृङखला ८ हजार ६ सय ११ मिटरको उचाइमा रहेको केटु आरोहणको क्रममा केटु हिमालको शिखरमा पुगेर १० पटक ‘पुसअप’ गरेका थिए । छिरिङ नाम्गेलले सगरमाथा ११ पटक, आमादब्लम हिमाल ८ पटक, मनास्लु ५ पटक, ल्होचे २ पटक र अन्य साना दर्जनौँ पिकहरू आरोहण गरिसकेका छन् ।

छिरिङ नाम्गेल विश्वको आठौँ अग्लो तथा नेपालको सातौं अग्लो मनास्लु हिमालको आरोहणको क्रममा योहो टेलिभिजनको लोगो अंकित झन्डा चुचुरोमा पुर्‍याएका थिए ।

शेर्पाले केही समयम अघि सेभेन समिट ट्रेक्स प्रालिबाट टिम लिडरको माकालु हिमालको आरोण गरेका थिए । छिरिङ नाम्गेल कान्छो आरोहीको रूपम परिचित छन् ।

सन् १९९४ मा सोलुखुम्बुको पाङबुचे गाउँमा जन्मेका छिरिङ नाम्गेलले शेर्पाको रूपमा १६ वर्षको उमेरबाट काम गर्न थालेका हुन् । हालसम्म उनले धेरै विदेशीलाई हिमालका शिखरसम्म पुर्‍याइसकेका छन् ।

हिमाल आरोहण गर्नु भनेको मृत्युलाई हत्केलामा राख्नु सरह रहेका आरोहीहरू बताउँछन् । आजसम्म हिमालमा कीर्तिमानी कायम गर्न राज्यको तर्फबाट आवश्यक सहयोग नभएको उनीहरूको गुनासो छ । व्यक्तिगत तवरबाट मात्रै कीर्तिमानी कायम हुँदै आएको छ ।

आरोही शेर्पाहरूले आफ्नो ज्यानको बाजी लगाएर विदेशी पाहुँनालाई हिमालको चुचुरोमा पुर्‍याउँदै आएका छन् । नेपालका शेर्पाहरू हिमाल चढ्न अब्बल छन् । साथै विदेशी पर्वतारोहण टोलीको सफलताका लागि महत्वपूर्ण मानिन्छन् ।

हिमाल आरोहण युद्ध मैदान सरह हुन्छ । युद्धमा जाने सैनिकलाई कुन बेला आफू अरूको शिकारमा परिन्छ भन्ने यकिन नभएजस्तै हिमाल आरोहणको बेला कतिबेला हिमपहिरो जान्छ टुंगो हुँदैन । सगरमाथा अक्सिजनबिना चढ्न सकिएला, तर शेर्पा बिना सगरमाथा चढ्न असम्भव देखिन्छ ।

हिमाल र शेर्पा पर्यायवची शब्द जस्तै बनेको छ । हिमाल बिना शेर्पा अधुरो छ भने, शेर्पा बिना हिमाल पनि अधुरो र असफल जस्तो देखिन्छ । यही हिमाल आरोहण गरेर विभिन्न व्यक्तिले विभिन्न मितिमा कीर्तिमानी कायम गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस् :

केटु हिमालको शिखरमा १० पटक ‘पुसअप’गर्ने साहासी छिरिङ नाम्गेल, कीर्तिमानीको तयारीमा

मनास्लुको शिखरमा छिरिङ नाम्गेलले पुर्‍याए ‘योहो टेलिभिजन’ को झन्डा