Breaking

भोटो जात्राको रोचक तथ्य,राष्ट्रपतिसँगै नागरिकले पनि गरे अवलोकन, खोइ असली हकदार ?


काठमाडौँ — विदेशीसामु फरक दृष्टिकोणले चिनिएको नेपालमा कयौं जात्रा, पर्व, परम्पराहरु रहेका छन् । त्यसैमध्येको एक रातोमच्छिन्द्रनाथको जात्रा भोटो देखाएर आज समापन गरिएको छ । वर्षा र सहकालका देवताको रुपमा पूजिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन बिहीबार ललितपुरको जाउलाखेलमा परम्परागत भोटो देखाएर मनाइएको छ । उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वका रुपमा रहेको उक्त जात्रामा अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलसहित राज्यका उच्च पदस्थ व्यक्तिहरूको उपस्थितिमा सर्वसाधारणका लागि भोटो देखाइएको थियो ।

मच्छिन्द्रनाथको जात्रा र भोटो देखाउने जात्रा फरक फरक भएपनि आजको दिनमा यो एक अर्काको विना अपुरो जस्तै हुने गरेको छ । खेतीकिसानीसँग सम्बन्धित यो जात्रा करिब १६ सय वर्षअघि सुरु भएको हो । नेपालमा मनाइने जात्रामध्येको सबैभन्दा लामो जात्राको रुपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा भोटो देखाएसँगै समापन हुन्छ ।

बहुमूल्य रत्नजडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथ जाउलाखेल पुगेको चौथो दिन लाखौंं दर्शकका सामु देखाउने चलन छ । लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले आफ्नी नागिनीको आखाको रोग निको पारे बापत भक्तपुरका किसान वैद्यलाई उपहारस्वरुप बहुमूल्य भोटो दिएका थिए । किसानले खेतको आलीमा राखी काममा व्यस्त भएका बेला भोटो हराएको र पछि मच्छिन्द्रनाथको जात्रामा भूतले भोटो लगाएर आएको देखेपछि दुवैले आफ्नो भनी दावी गरेका थिए । विवादपछि जसले भोटो आफ्नो हो भनेर प्रमाण जुटाउन सक्छ, उही उक्त बहुमूल्य भोटोको वास्तविक हकदार हुने भनेपछि मच्छिन्द्रनाथलाई चढाएको किम्वदन्ती छ । त्यहीदेखि भोटो देखाउने परम्परा रहेको देखिन्छ ।

जावलाखेलमा भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङमती पु¥याइन्छ । रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङमतीमा राख्ने गरिन्छ । अनमोल भोटोको दर्शनले जो कोही पनि पवित्र हुने भएकाले भोटो जात्रामा उपस्थितिले मात्रै पनि सबै पापको नाश हुने धार्मिक जनविश्वास रहेको छ । त्यस्तै परम्परादेखि नै चलिआएको संस्कृतिले बचाउँदा भावी पुस्ताले पनि यसलाई ग्रहण गर्न सहज हुने कतिपयको बुझाई छ ।

वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म मनाउने यो पर्व हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीले आस्थाकासाथ हेरेको पाइन्छ । लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि अविच्छिन्न रुपमा मनाउँदै आएको यो पर्व एक वर्ष भने कोभिडको कारण अवरुद्ध भएको थियो ।