Breaking

सुन्दर भए पनि सफा भने हुन सकेन राजधानी, फोक्सो सम्बन्धि डर लाग्दो तथ्यांक, चालक–यात्रु दुवै मर्कामा


काठमाडौँ — अव्यवस्थित सडक निर्माण र अत्याधिक सवारी साधनका कारण काठमाडौंको वातावरण धुलाम्मे हुन थालेको छ । धुलोका कारण जनस्वास्थ्यमा विभिन्न समस्याहरु देखिन थालेको छ भने सम्बन्धित निकाय पनि मुकदर्शक मात्रै बनेर बसिरहेका छन् । संघीय राजधानी भन्नासाथ सुन्दर, सफा र स्वच्छताको परिकल्पना गरिन्छ । तर, काठमाडौंको पछिल्लो रुप त्यसको ठिक विपरित बन्दै गएको छ । अव्यवस्थित सडक निर्माण र सवारीसाधानको चाप बढ्दै जानुले काठमाडौं उपत्यकाका बासिन्दा धुलोमैलो सहन बाध्य छन् । अझ भनौँ सरकारी निकायबीच नै आवश्यक समन्वय नहुँदा विकास निर्माणका काममा ढिलासुस्ती हुँदा स्थानीय थप धुलोमैलो सहन बाध्य छन् ।

यसमा काठमाडौं महानगरपालिकाले समेत आवश्यक समन्वय गरेर अगाढि बढ्न सकिरहेको छैन । वातावरण प्रदूषणका कारण मानव स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन समस्याहरु देखिने गर्छ । श्वासप्रश्वासमा समस्या, आँखा, नाक र घाँटीको जलन, फोक्सोको क्यान्सर, दम जस्ता रोगहरुको विकास भइरहेको छ । हाल नेपालमा क्यान्सरमध्ये सबैभन्दा बढी फोक्सोको क्यान्सरका बिरामीहरु छन् । मृत्यु पनि तिनै फोक्सो क्यान्सरकै बिरामीहरुको हुने गरेको तथ्यांकले देखाउँछ ।

यति डर लाग्दो तथ्यांक बाहिर आईरहँदा पनि काठमाडौँवासीहरु धुलो धुवाँमै कहिलेसम्म बस्न बाध्य हुने ? काठमाडौँको वायु निकै अस्वस्थकर बनेको छ । वातावरण विभागका अनुसार काठमाडौँभित्र रहेको प्रदूषण सूचक यन्त्रमा शुक्रबार दिउँसो वायु प्रदूषणको मात्रा १५५ एक्यूआई (एयर क्वालिटी इन्डेक्स) सम्म पुगेको देखियो । धुलोकै कारण काठमाडाँै वासीले सास्ती त खेपिरहेको छ नै, सवारी चालकहरु पनि यसको मारमा परेका छन् । गत वैशाख ३ गते काठमाडौँ विश्वकै सबैभन्दा बढी प्रदूषण हुने शहरमा परेको थियो । काठमाडाँैको यो हविगत हुँदा राजधानीसँगै जोडिएको ललितपुरको भने कथा फरक छ । ललितपुर राजनधानीभन्दा निकै सफा छ ।

त्यसो त काठमाडौँ र ललितपुरलाई भुगोलले नै छुट्याए पनि वातावरणले पनि यहाँको सीमांकन गरिदिएको छ । काठमाडौँ विश्वकै प्रदूषित शहर हुनुमा मानव, भौगोलिक र प्राकृतिक जस्ता विविध कारणहरु छन् । अन्य देशको तुलनामा धेरै मात्रामा उद्योग, कलकारखाना नभए पनि नेपालमा चल्ने धेरैजसो सवारी साधन पुराना छन् । जसबाट निस्कने धुवाँ मानव स्वस्थ्यमा नकारात्मक हुनुका साथै वातावरणका लागि पनि हानिकारक छ । त्यस्तै अव्यवस्थित भवन तथा सडक निर्माण पनि प्रदूषणको प्रमुख कारक तत्व नै हुन् भने, वर्षाको समयमा पानी नपर्नुलाई पनि कारण मानिन्छ । २०२२ मा विश्वकै प्रदूषित देशहरु मध्ये १६ स्थानमा रहेको नेपाल यस्तै अवस्थामा रहीरहे चाँडै नै शीर्षमा उक्लिएला भन्न सकिँदैन ।