Breaking

परराष्ट्रमन्त्री साउद आज बेलायती राजा चार्ल्सको राज्याभिषेकमा सहभागी हुँदै


काठमाडौँ – परराष्ट्रमन्त्री एनपी साउद आज बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुँदै छन्।

सो कार्यक्रममा सहभागी हुन बिहीबारै लन्डन पुगेका परराष्ट्रमन्त्री साउद शुक्रबार बकिङ्घम दरबारमा विदेशी प्रतिनिधिको सम्मानमा राजा चार्ल्सले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए।

आज भने वेस्टमिन्स्टर एब्बेमा राज्याभिषेक समारोहमा भाग लिने कार्यक्रम रहेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।

पछिल्लो ७० वर्षयता बेलायतमा यो पहिलो राज्याभिषेक हुन लागेको हो। यसैलाई ध्यानमा राख्दै सेन्ट्रल लन्डनमा कडा सुरक्षा व्यवस्था गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त समारोहमा झन्डै सय देशका सरकार प्रमुख सहभागी हुनेछन्।

मन्त्री साउदले बेलायत भ्रमणका क्रममा केही औपचारिक भेटघाटका साथै त्यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ।

परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने तालिका छ।