Breaking

ओली–प्रचण्ड मिलेर भगाए टोपबहादुर, आफै फस्ने डर, थुनामा पोल खोलाखोल, टोपबहादुर पछि कसको पालो ?


काठमाडौँ — नक्कली लडाकुलाई वैद्य बनाउने धन्दामा लागेको आरोप लागेका व्यक्ति बहालवाला प्रधानमन्त्री छन् । उपप्रधानमन्त्री भएकाहरु नक्कली शरणार्थीको धन्दा गर्दैछन् । भ्रष्टाचारको एउटामात्रै फाइल खोल्दा देश नै तरंगितबनेको छ । पक्राउ पर्ने डरले पूर्वमन्त्री फरार भएका छन् । एकपछि अर्काे तानिने क्रम चलेपछि लहरो तान्दा पहिरो थर्किने निश्चित बनेको छ । सन् १९९० मा भुटानबाट लखेटिएर आएका व्यक्तिहरु भारत हुँदै नेपाल प्रवेश गरि झापा र मोरङमा बस्दै आएका थिए । सरकारी तथ्यांक अनुसार तेस्रो मुलुक पुनर्वास अघि यसरी आउनेको संख्या करिब १ लाख २० हजार थियो ।

तीमध्ये सन २०१८ सम्ममा १ लाख १३ हजार ३०७ जना तेस्रो मुलुक पुनस्थार्पना भइसकेका छन् । तीबाहेक भुटानी शरणार्थीका रुपमा दर्ता भएका ६ हजार ५७७ जना अझै नेपालको शिविरमा बस्छन । तर यता नेपालीलाई नक्कली शरणार्थी बनाएर १० देखि ५० लाख रुपैयाँसम्म असूली गर्ने गिरोहमा बहालवाला सचिवदेखि मन्त्रीसम्म सक्रिय भएको विषय अहिले सार्वजनिक भएको छ । यसले विगतमा पनि यही गिरोहले कतिलाई शरणार्थी बनाएर अमेरिका पठायो एकिन छैन ।

आफ्नै नागरिकलाई अर्काे देशको नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने एउटै प्रकरणको फाइल खोल्दा ‘लहरो तान्दा पहिरो’ झर्दैछ । भीआइपी गिरोहको पर्दाफास हुँदै गएपछि ठूला–ठूला माछा समातिदैछन् ।अनुसन्धानले सही बाटो समायो भने अझै को–को फन्दामा पर्छन् हेर्न बाँकी छ ।तर ठगि गिरोहको भीआईपी जालो उजागर हुँदै गएपछि यता राजनीतिक नेतृत्वको निद्रा हराम हुन थालेको छ ।

यो प्रकरणको उजागर यसरी हुँदैछ कि, जसमा एकले अर्काविरुद्ध पोल खोल्दैछन् ।चैत१२ मा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले पोल खोलेपछि टंक गुरुङ, सागर थुलुङ राई, सन्देश शर्मा पोखरेल पक्राउ परेका थिए । उनीहरुको बयानका आधारमा बालकृष्ण खाँण गृहमन्त्री हुँदा गृहसचिव रहेका टेकनारायण पाण्डे पक्राउ परे । लगत्तै बहालवाला सचिव पाण्डेले बयान दिएपछि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परे ।

उनका छोरा निरज र पूर्वगृहमन्त्री बादलका छोरा प्रतिकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । राईले यसरी मुख खोलिदिए, जसमा पूर्वउर्जामन्त्री तथा नेकपा एमालेका सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भयो । रायमाझीका छोरा बुधबार नै पक्राउ परेपछि थुनामा गएका छन् । यता पक्राउ पर्ने डरले रायमाझी सम्पर्कविहिन छन् ।

काठमाडौंमा पक्राउ पुर्जी जारी हुँदै गर्दा रायमाझी गृहजिल्ला अर्घाखाँचीमा थिए । तर काठमाडौंका लागि हिडेका उनी बुधबार बेलुकादेखि नै सम्पर्कविहिन भए । बिहिबार बिहान एकाएक उनी बुटवल आसपासमा पक्राउ परेको सूचना प्रहरीको उच्च स्रोतले केही माध्यमहरुबाट पुष्टिसमेत ग¥यो । तर अहिले एकाएक फेरि गायब भएका विषय सार्वजनिक भएपछि अनेक शंकाहरु उब्जीएका छन् । यही बीचमाउनको पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटन् सिंहदरबारमै पुगेपछि घटना थप रहस्यमय बन्दै गएको छ ।

पक्राउ परेको भनिएका व्यक्ति सम्पर्कविहिन हुनु र यहीबीचमा पार्टी अध्यक्ष र सरकारको नेतृत्व गरेको प्रधानमन्त्रीबीच भेटवार्ता हुनु पनि शंकाकै विषय हो । त्यसमा ओलीले प्रधानमन्त्रीलाई दिएको चेतावनीको विषय पनि चानचुने छैन । हत्या अभियुक्त सांसद लक्ष्मी महतो कोइरीका बिषयमा पार्टी अध्यक्ष ओलीले सांसद थप खोस्ने वा निलम्बन गर्नेसम्मको हिम्मत देखाएका थिएनन् । यद्यपी संसदमा सवाल–जवाफ चलेर पार्टीकै बेइज्जत हुने अवस्था बनेपछि अहिले उनी निलम्बन गर्न बाध्य बनेका छन् । रास्वपाले आफ्ना सांसदमाथि आरोप लागेपछि ७२ घण्टाभित्रै पद खोसिदियो ।

एमालेमा ७२ करोडका आरोपित पनि संरक्षित छन् ।फलतः नेतृत्वको शैलीमाथि पनि प्रश्न गर्ने ठाउँ बनेको छ । अहिले टोपबहादुरलाई बचाउन ओली सक्रिय भएको विषयपछि एमाले अध्यक्ष ओली भ्रष्टाचारीको संरक्षणमा किन यति धेरै रुची राख्छन् ? भन्ने टिप्पणी भइरहेका छन् । किनकि पक्राउ पुर्जी नै जारी भएपछि कानुनी दायरामा आउनु वा ल्याउन सहयोग गर्नुपर्नेमा उल्टै प्रतिप्रश्न गुर्न पनि अपराध हो । किनकि विषय सामान्य र सहज छैन ।एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएकै पालामा यी सब घटनाहरु भएका छन् । एमालेकै नेता रामबहादुर थापा गृहमन्त्री भएकै बेलामा यो सबै सेटिङ भएको छ । उनकै सल्लाहकार र छोरा मुछिएपछि शंका तत्कालिनगृहमन्त्री र प्रधानमन्त्रीमाथि पनि सोझिएको छ ।

शुक्रबार पनि ओली र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएपछि सत्तापक्ष र प्रतिपक्षकै स्वार्थमा फाइल बन्द हुनेत होइन ? आशंका गर्ने ठाउँ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि पनि क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचारदेखि अयोग्य लडाकुलाई बाँडिएको पैसासम्म प्रश्न छ । जसको हिसाबकिताब अहिलेसम्म बाहिर आएको छैन । प्रचण्डकै सहयात्री बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनामा ९ अर्ब खाएको भनेर प्रचण्डमाथि आरोप थोपरेको धेरै वर्ष भएको छैन ।अहिले अयोग्य लडाकुलाई झण्डै एक अर्ब बाँड्ने विषयमा समेत प्रचण्ड आलोचित छन् ।

नक्कली भुटानी शरणार्थी बनाए अमेरिका पठाउने प्रकरणमा शुक्रबारमात्रै प्रहरीले थप तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनीहरु फरार छन् । पूर्वगृहमन्त्री बादल कि पत्नी नैनकला र अख्तियार प्रमुख प्रेम राईको नाम पनि पक्राउ परेकाले लिएका छन् । अझै सानादेखि ठूलासम्म को–को जाक्किने हुन्, प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिए खुल्दै जानेछ ।