Breaking

सरकार रमिते बनेको गगनको आरोप,एमाले सांसदले गरे हंगामा, प्रकोपसँग बच्न के छ सरकारसँग उपाय ?


काठमाडौँ — बुधबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सांसदबीच सवाल जवाफ भएको छ । देशमा भइरहेका विभिन्न समस्यालाई लिएर सांसदले प्रश्न उठाएपछि सांसद र गृहमन्त्रीबीच सवाल–जवाफ भएको हो । ठूला राजनीतिक दलले समयमा संसदीय समितिमा रहने सदस्यको नाम नदिँदा बुधबार प्रतिनिधिसभाको कार्यसूची परिमार्जन गरियो ।संसद बैठक बस्नुपूर्व बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दलले समितिमा रहने सदस्यको नाम नदिएपछि कार्यसूची फेरिएको थियो ।

कार्यसूची फेरेर सुरु भएको बैठकमा सांसद र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच सवाल–जवाफ भएको छ । बैठकमा सात दिन अघि निरा पाण्डे आचार्यको बिभत्स हत्याको विषयमा सांसदहरुले सरकारको जवाफ माग गरे । सांसदहरु बिजुला कुमारी रायमाझी र गगन कुमार थापाले सो हत्याकाण्डको सत्यतथ्य पत्ता लगाउन, प्रहरी अनुसन्धानलाई प्रभावकारी गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराए । काठमाडौंका सबै ठाउँका सिसीटिभीको व्यवस्था गर्न सरकारसँग माग गर्दै दिनदहाडै हत्या हुने क्रम बढ्दै गइरहँदा पनि शान्ति सुरक्षा दिनेसवालमा सरकार रमिते बनेको सांसदहरुले आरोप लगाए ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भएको ढुङ्गामुढा प्रयासको विषयले पनि आजको संसद बैठकमा प्रवेश पाएको छ ।झापाको बुधवारेमा एमाले अध्यक्ष ओली सहभागी भएको कार्यक्रममा कोशी प्रदेश नामाकरणमा विरोध गर्नेहरूले ढुङ्गामुढागरेका थिए । संसद बैठकमा एमालेका सांसद पदम गिरीले लडेर ल्याएको लोकतन्त्रमा आफ्नो पार्टी अध्यक्षमाथि भएको अवाञ्छनीय कार्यको सरकारसँग जवाफ मागेका थिए ।

जवाफमा गृहमन्त्री श्रेष्ठले झापाको बुधवारेमा एमाले अध्यक्ष ओली सहभागी भएको कार्यक्रममा कोशी प्रदेश नामाकरणमा विरोध गर्नेहरूले ढुङ्गामुढा भएको र अभद्र व्यवहार गर्नेलाई प्रहरीले पक्राउ गरेको जानकारी गराए । बुधबारको बैठकमा प्राकृतिक प्रकोपबाट हुने क्षतीलाई रोक्न सरकारले गरेको तयारीबारे पनि सांसदहरुले सरकारको जवाफ मागेका छन् । यस्तै बैठकमा हाल भईरहेको र विगतमा भएको प्रकृतिक प्रकोपबाट पाठ सिक्दै अग्रिम तयारी थाल्न आम जनता पार्टीका सांसद प्रभु साहले सुझाव दिएका छन् ।

बुधबारको बैठकमा मिटर ब्याज पीडितहरुको समस्या समाधानमा सरकारले कस्तो कदम चाल्दै छ भन्ने विषयले पनि प्रवेश पायो । जवाफमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी साहुकारलाई ७ वर्ष जेल सजाय हुने कानुन निर्माण गर्न लागेको सदनलाई जानकारी गराए । अर्को बैठक यहि वैशाख १५ गते बस्नेगरी स्थगित भएको छ ।