Breaking

चितवन २ मा दिउँसो १ बजेदेखि मत गन्ने सहमति


काठमाडौँ – चितवन क्षेत्र नम्बर २ मा सोमबार दिउँसो १ बजेदेखि मतगणना थाल्ने सर्वदलीय सहमति भएको छ ।

मतगणना सुरु गर्नेबारे छलफल गर्न बिहान बसेको सर्वदलीय बैठकले यस्तो निर्णय लिएको हो । सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार ९ बजेबाट बसेको बैठकबाट यस्तो सहमति जुटेको हो ।

आइतबार बेलुकी नै मतपेटिका संकलन भइसके पनि कांग्रेस र एमालेले रवि लामिछानेविरुद्ध परेको उजुरीको टुंगो लागेपछि मात्रै मतगणना सुरु गर्न दिने बताएपछि रोकिएको थियो ।

लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै प्रचार गरेको आरोपमा कांग्रेसले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेको छ । निर्वाचन अधिकृतको कार्यालयले चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना व्यवस्था गरेको छ । त्यहीँ बसेको बैठकले मतगणना गर्ने सहमति जुटाएको हो ।