Breaking

जसपा, एमाले र रास्वपाका उम्मेदवाहरु आफैंलाई भोट हाल्न पाएनन्


काठमाडौँ – तीन वटा जिल्लाका तीन क्षेत्रमा भईरहेको उपनिर्वाचनका मूख्य प्रतिष्पर्धी उम्मेदवारहरु मध्ये अधिकांश आफैंलाई मत दिन नपाउने अवस्थामा रहेका छन् ।

सम्बन्धित निर्वाचत क्षेत्रको मतदाता नामावलीमा नाम नरहेका कारण जसपा, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवाहरु आफैंलाई मत दिनबाट बञ्चित भएका हुन ।

चितवनको क्षेत्र नम्बर २ मा मूख्य प्रतिष्पर्धी ठानिएका रास्वपाका उम्मेदवार रवि लामिछाने र एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले आफूलाई मत हाल्न पाउने छैनन् । उहाँहरु दुवै जनाको मतदाता नामावली अन्यत्रै रहेकाले मत हाल्न नपाउने भएका हुन ।

सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले आइतबार बिहान सुरूमै मतदान गर्नुभएको छ । उहाँले कालिका नगरपालिकाको शक्तिखोरस्थित चतर्मुखी माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्नुभएको हो ।

यस्तै, बाराको क्षेत्र नम्बर २ मा पनि मूख्य प्रतिष्पर्धी ठानिएका जसपा अध्यक्ष समेत रहेका सत्ता गठबन्धनका उम्मेदवार उपेन्द्र यादवले आफूलाई मत हाल्न पाउनु हुने छैन । यादवको मतदाता नामावलीको नाम सुनसरीमा रहेको छ । सो क्षेत्रमा रास्वपा उम्मेदवार रमेश खरेल र एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले पनि मत हाल्न पाउनु हुने छैन ।

सो क्षेत्रका अर्का मुख्य प्रतिष्पर्धी मध्येका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुसवाहले भने बिहान सुरूमै मत हाल्नु भएको छ । उहाँले गढीमाई नगरपालिकाको बरैयााटोलस्थित स्वास्थ्य चौकी मतदान केन्द्रबाट बिहान सातै बजे मत हाल्नु भएको छ ।

यसैगरी, तनहुँमा पनि मूख्य प्रतिष्पर्धी मध्येका दुई उम्मेदवारले आफूलाई मत हाल्न पाउने छैनन् । एमाले उम्मेदवार सर्वेन्द्र खनाल र रास्वपा उम्मेदवार स्वर्णीम वाग्लेको मतदाता नामावलीको नाम अन्यत्रै रहेकाले उनीहरुले आफूलाई मत हाल्न नपाउने भएका हुन । कांग्रेसका गोविन्द्र भट्टराइले भने आफूलाई मतदान गर्न पाउनु हुनेछ । उहाँले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम छ ।