Breaking

प्रचण्डको भारत भ्रमण योजना अझै सफल हुन सकेन, मित तय किन भएन ?


काठमाडौँ — पद सम्हाल्ने वित्तिकै पहिलो विदेश भ्रमण भारत रोजेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको इच्छा अझै अपुरो छ । वैशाखको अन्तिम तथा जेठको पहिलो साता प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा निस्किने चर्चा रहे पनि सरकारले अझै यकिन मिति सार्वजनिक गरेको छैन । प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने वित्तिकै आफ्नो पहिलो विदेश भ्रमण कसैगरी छिमेकी मुलुक भारतबाट नै गर्ने भनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको योजना अझै सफल हुन सकेको छैन ।

प्रचण्ड प्रधानमन्त्री बनेपछि यसबीचमा भारतीय विदेशमन्त्री विनयमोहन क्वात्रा नेपाल आएर भ्रमणको अनौपचारिक निम्तो दिए, परराष्ट्रमन्त्रालय आफैसँग राखेका प्रचण्डले, आफ्नो भारत भ्रमणको योजना निर्माण गर्न सञ्चारमन्त्री एवंम सरकारका प्रवक्ता रेखा शर्मालाई भारत पठाए । आफ्नो भ्रमणको थालनी भारतबाट नै गर्ने हठका कारण अझ भनौ कुटनीतिक अपरिपक्वताले कतारको एलडीसी सम्मेलन र चीनको बोआओ फोरममा गएन्न् ।

तथापी एकाएक फेरिएको राजनीतिक समिकरण, सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति र दोस्रो पटक विश्वासको मतमा अल्झिँदा भारत भ्रमण ओझेलमा प¥यो । भारतले प्रधानमन्त्री प्रचण्डलाई निम्तो दिन हतारिएन । केहि सिप नलागेपछि प्रचण्डले आफ्नो भ्रमणको वातावरण बनाउनकै लागि भारतको ताकेता गर्न हतार हतारमा एक थान मन्त्री थपे । एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त गरे । साउद परराष्ट्रमन्त्री बन्ने वित्तिकै भारतीय राजदुत नविन श्रीवास्तवसँग भेटवार्ता गरे । प्रधानमन्त्रीको भारत भ्रमणको व्यवस्थापन गर्नकै लागि परराष्ट्रमन्त्री नियुक्त भए पनि साता पुग्नै लाग्दा समेत सरकार तयारीमै रहेको भन्दै भ्रमणको मिति तय गर्न सकिरहेको छैन ।

सुरुवातदेखि नै चर्चामा रहेको प्रधानमन्त्री प्रचण्डको भ्रमणको विषय भारतीय सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवालेको नेपाल यात्रा र राजनीतिक भेटघाटका कारण पनि चासोमा छ । नेपालको बदलिएको राजनीतिक समिकरण र नेपालको आन्तरिक राजनीतिको नशा छाम्न चौथाइवाले नेतृत्वको ढोकाढोका पुगिरहेका छन । प्रधानमन्त्रीको भ्रमणका लागि निम्तो आईसकेकाले उप निर्वाचनपछि वैशाखको अन्तिम साता अथवा जेठको पहिलो साता प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण जाने आँकलन छ ।

प्रधानमन्त्री स्तरीय भ्रमणमा दुई मुलुकका समस्या सम्बोधन र प्राथमिकिरणमा जोड दिन प्रधानमन्त्रीको ध्यानकर्षण गराउने क्रम जारी छ । २०६५ मा पहिलो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट सुरु गरेपछि भारतले असन्तुष्टि जनाएको थियो । केहि समयपछि कुर्शि नै छोड्नुपर्ने अवस्था आयो, फलत आन्तरिक राजनीतिक परिवेशका कारण पनि प्रचण्ड यो पटक कुनै पनि हालतमा जोखिम मोल्ने मनस्थितिमा छैनन् ।

प्रचण्ड भारत भ्रमणको रटानमा छन् । तर कुटनीतिक हिसावले भ्रमण कति उपलब्धि मुलक हुने अवस्था छ त ? प्रधानमन्त्री प्रचण्डको भारत मोह प्रधानमन्त्री हुनासाथ पहिलो विदेश यात्रा भारत जाने परम्परालाई निरन्तरता दिँदै भारतलाई खुशी बनाउन मात्र हो या अन्य कुनै राजनीतिक लाभ हो लेखाजोखा हुने नै छ । तर उच्चस्तरी भेटघाट र कुटनीतिक व्यवहारलाई बदलिएको भु–राजनीतिक चुनौतिसँगै राष्ट्रिय स्वार्थ र राष्ट्रहितप्रति भने नेतृत्व चनाखो हुँदै प्रभावकारी परराष्ट्र मामिला सञ्चालन अपरिहार्य छ ।