Breaking

ओली–प्रचण्डको लडाई, दिक्क कार्यकर्ता, सप्रिने कि सक्किने ?


काठमाडौँ — नेपालमा कम्युनिष्ट पार्टीको उदय भएको साढे सात दशक वित्यो । तर नेतृत्वको सिद्धान्त भन्दा सत्ताकेन्द्रित राजनीतिक प्रवृत्तिको उपज श्रृंखलावद्ध टुटफुटले नेपालको कम्युनिष्ट आन्दोलन थप धरासायी बन्दै गएको छ । क्षणिकरण उन्मुख छ । तर कम्युनिष्ट कार्यकर्तामा आलोचनाकाबीच आशाको त्यान्द्रो भने कायमै छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७४ वर्ष पुरा भयो । नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरुवात भएको स्मरण सहित शनिवार नेपालका अधिकांश कम्युनिष्ट पार्टीहरुले ७५ औं कम्युनिष्ट पार्टी स्थापना दिवस मनाए ।

२०४६ को जनआन्दोलनपछि गति लिएको कम्युनिष्ट आन्दोलन पछिल्लो समय निरन्तर खस्किँदो क्रममा छ । कम्युनिष्ट नेतृत्व राजनीतिक सिद्धान्त भन्दा सत्ता र शक्ति भोगि हुँदा भागवण्डाकै कारण कम्युनिष्टहरु टुक्रिने क्रममा छन् । श्रृंखलावद्ध टुटफुटको उपज नेपालको कम्युनिष्ट आन्दोलन थप धरासायी उन्मुख छ । टुटफुट, धोका–गद्दारीको श्रृंखलाको प्रत्यक्ष असर समग्र कम्युनिष्ट आन्दोलन र आम नागरिक समेत त्यसको शिकार बनेका छन । कयौैं राजनीतिक आन्दोलन संघर्षपछि मुलुकको व्यवस्था परिवर्तन भए पटक पटक कम्युनिष्टले मुलुकको सत्ता हाँके तर पनि अवस्था थप नाजुक छ ।

अर्कोतर्फ श्रमिक, सर्वहारा वर्गको वकालत गर्ने कम्युनिष्ट नेतृत्वको राजनीतिक प्रवृत्ति र विलासिताले नेपालमा कम्युनिष्ट आन्दोलन थप धरापपूर्ण बन्दै गएको छ । कम्युनिष्ट पार्टीहरु क्षयिकरणतर्फ पतनको बाटोमा छ भन्दा फरक पर्दैन । तर नेता कार्यकर्ता यो विषयलाई क्षयिकरण भन्दा पनि कम्युनिष्टबीच मतभेदका रुपमा हेर्छन । नेतृत्वप्रति विश्वस्त छन् ।

निर्वाचन मत परिणामका आधारमा नेपालमा अझै पनि कम्युनिष्ट जनमत राम्रो छ । विकास र समृद्धिको नारा घन्काएका कम्युनिष्टहरु आफ्नो स्वार्थका लागि टुक्रा टुक्रा बन्दा उनीहरुको टुटफुटको चपेटामा मुलुक अस्थिर राजनीतिको बन्धक छ । तर कम्युनिष्ट कार्यकर्ताहरु अझै पनि नेतृत्वप्रति आशावादी छन् । कम्युनिष्ट आन्दोलनको आडमा मुलुक चलेको दावी उनीहरुको छ । व्यक्ति क्षयिकरण भए पनि नीति सिद्धान्त क्षणिकरण नभएको कार्यकर्ताहरुको तर्क छ ।

नेपाली कम्युनिस्ट आन्दोलन र कम्युनिष्ट पार्टीहरुको विभाजनको दोष आन्तरिक र बाह्य शक्तिलाई दिने चलनचल्ती बढ्दो छ । तर नेतृत्वको व्यक्तिगत– समूहगत स्वार्थ र नसुध्रिएको राजनीतिक प्रवृत्ति पनि जिम्मेवार छन् । जसको असर समग्र कम्युनिस्ट आन्दोलन नै जोखिम उन्मुख छ । यसतर्फ भने कम्युनिष्ट नेतृत्व र नेता कार्यकर्ता समेत सचेत हुने की ?