Breaking

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा


काठमाडौँ — निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले शनिबार एक विज्ञप्ति जारी गर्दै बारा संघीय निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जारी गरेको विज्ञप्तिमा आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न आह्वान गरिएको छ ।


‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अगाडिबाट शुरू भएको प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ को पालनामा आयोगले विशेष सजगता अपनाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस अवधिमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइ सकिएको छ ।

मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको छ ।’
आयोगले मतदानका दिन सम्बन्धित जिल्लामा आवागमन र सवारी साधन सञ्चालनका लागि स्थानीय प्रशासनले तोकेबमोजिम हुने गरी गर्न निर्देश गरेको जनाएको छ ।