Breaking

भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना सङ्क्रमण


काठमाडौँ – पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण दर वृद्धि भइरहेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका साथै पहाडी जिल्लाका नेपाल-भारत सीमा नाकामा पाँच वटा स्थानमा हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षण गर्दै आएको छ ।

कञ्चनपुरको गड्डाचौकी नाका, कैलालीको त्रिनगर र खक्रौला, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा भारतबाट फर्किनेको स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा पीसीआर विधिमा तीन र एन्टिजेनमा २७ गरी ३० जनामा सङ्क्रमण देखिएको छ । यहाँ बुधवार चार सय ११ जनालाई एन्टिजेन र २२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

जसमध्ये कञ्चनपुरका मात्रै बुधवार दश जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले यहाँ दश जनामा सङ्क्रमण देखिएको बताए । उनका अनुसार गड्डाचौकीमा चार, बेलौरीमा चार र दोधारा चाँदनी र कृष्णपुर नगरपालिकामा एकरएक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

बुधवार मात्रै सिमाना गड्डाचौकीमा दुई सय आठ, बैतडीको झुलाघाटमा १९, टीकापुर खक्रौला नाकामा ४२, त्रिनगर भन्सारमा एक सय ९७ र दार्चुलाको पुलघाटमा नौ जनाको कोरोना परीक्षण गरिएको थियो ।