Breaking

रास्वपाविरुद्ध खनियो गठबन्धन, स्वर्णिम हराउन तनहुँमा देउवा–प्रचण्ड, उपनिर्वाचन प्रक्षेपण यस्तो


काठमाडौँ — बैशाख १० को उपनिर्वाचनको आखिरी समयमा आइपुग्दा दलहरु आमसभा केन्द्रीत बनेका छन् । आफ्ना उम्मेदवारलाई जिताउनसत्ता गठवन्धनका शिर्ष नेताहरु देउवा, प्रचण्ड र माधव नेपालआज तनहुँको आम सभामा थिए । तर उम्मेदवारहरुको रस्साकस्सी हेर्दा तीन वटै निर्वाचन क्षेत्रमा ठूला दलहरु दबाबमा परेका छन् । ७० बर्ष राजनीति गरेका पार्टीहरु र ७ महिनाअघि मात्रै राजनीतिमा आएको पार्टीबीच उपनिर्वाचनको चर्काे टकराव चर्किरहेको छ ।

बैशाख १० को गर्मीभन्दा बढी उपनिर्वाचनको सरगर्मीले माहोल झनै तात्तिएको छ । तनहुँ १, चितवन २ र बारा दुईको उपनिर्वाचन कुनै आमनिर्वाचनभन्दा कम छैन । मात्र तीन सिटका लागि हुँदै गरेको उपनिर्वाचन पद, प्रतिष्ठा र प्रतिशोधसँग जोडिएको छ । तनहुँ १ मा विरासतको आडमा अडिएका काँग्रेसकागोविन्द भट्टराई गठबन्धनका उम्मेदवार हुन् भने प्रतिफलको राजनीति खोज्दै रास्वपा भित्रिएका स्वर्णिम वाग्ले यहाँको नयाँ अनुहार हुन् ।

यी दुईबीच नै मुख्य प्रतिस्पर्धा देखिएपनि बलियो सांगठिक आधार भएको तनहुँमा एमाले हार्न चाहेको छैन ।तथापी निर्णायक मत बोकेर बसेका गोविन्दराज जोशी समूहले स्वर्णिमलाई समर्थन गरेपछि काँग्रेस दबाबमा परेको छ भने, एमाले विगतकै भोट बचाउने बाटोमा छ ।तर काँग्रेस छोडेर रास्वपाबाट उम्मेदवार बनेका स्वर्णिमले काँग्रेसकै मत काट्ने सम्भावना बलियो बनेपछि यहाँ नेताहरुको लर्काे छ ।

मंसिर ४ कै मतलाई जोगाएमात्रै पनि जित्ने सम्भावना भएपछि काँग्रेसका शीर्ष नेताहरु तनहुँ केन्द्रीत बनेका हुन् । महामन्त्री गगन थापादेखि प्रदीप पौडेल, शेखर कोइराला र शंकर भण्डारी लगायतका नेताहरु तनहुँमै छन् । तनहुँलाई पहिलो प्राथमिकता बनाएका देउवा, प्रचण्ड र माधव पनि बुधबार पुगेर भाषण गरेका छन् ।

गोविन्द भट्टाराईको हारभन्दा पनि काँग्रेस र गठबन्धनको प्रतिष्ठासँग तनहुँ १ जोडिएपछि नेतृत्वले यही बल गरिरहेको छ । गगनकै टीममा बसेर काम गरेका स्वर्णिमलाई हराउने जिम्मा देउवाले गगनलाई चुनावी कमाण्डर बनाएर सुम्पिएपछि यहाँ यहाँको चुनाव प्रतिष्ठाको लडाइँ बनेहो हो । तर विगतको मत मात्रै जोगाएर नपुग्ने भएपछि चितवनमा भने गठबन्धनले चित खाएको छ । यहाँ सबै दल एकातिर हुँदा पनि रास्वपाका रवि लामिछाने सुरक्षित देखिन्छन् ।

चितवनमा रविसँग काँग्रेस टक्करमा उत्रिएपनि एमाले तेस्रोमा पुग्ने प्रक्षेपण भइरहेका छन् । किनकिएमाले अन्य निर्वाचन क्षेत्र जस्तै यहाँ पनि शिथिल छ । तर ओली–देउवाबीच चितवनमा एमालेलाई दिएर तनहुँमा काँग्रेसलाई जिताउने गरि सहमतिको प्रयास गरिएपछि रवि र स्वर्णिम दुबै दबाबमा परेका थिए । तर ओली–देउवाबीचको कसरत टुंगोमा नपुगि तुहिएपछि रविले प्रतिष्ठा र प्रतिशोधको चुनाव जोगाएका छन् । तर एमाले काँग्रेस दुबैको प्रहार भने रविमाथि नै छ ।

यी दुई निर्वाचन क्षेत्रभन्दा भिन्न चुनाव बारा २ मा हुँदैछ । मंसिर ४ को निर्वाचनमा सप्तरी २ मा हारेका उपेन्द्र यादवलाई हराउन सीके राउत बारामै बास बसेका छन् । यहाँ जसपाका यादव र जनमतका शिवचन्द्र कुशवाहको मुख्य प्रतिस्पर्धा हुने देखिएपनि एमाले र रास्वपा तेस्रोका लागि भिड्नेछन् । तथापी तीनवटै निर्वाचन क्षेत्रमध्ये एमाले यहाँ आफ्नो सम्भावना देखिरहेको छ ।तर यही निर्वाचनपछिमात्रै मधेशमा उपेन्द्र यादव र सिके राउतको शक्ति मापन हुने भएपछि उनीहरुबीच नै मुख्यप्रतिस्पर्धाको आकलन गरिएको छ भने अन्तिममा यादवले धक्का खाने प्रक्षेपण छ ।

तीनवटै निर्वाचन क्षेत्रको प्रारम्भिक अध्ययनपछि ठूला दलहरु नै दबाबमा परेको आकलन गर्न संकट छैन । तनहुँ र चितवनमा रास्वपाको बलियो सम्भावनाका बीच बारामा जनमतको बाजी मार्ने सम्भावना बलियो देखिन्छ । यदि परिणाम यस्तै आए ठूला दलहरु गठ बाँधेर चुनावमा जानेमात्रै होइन, उनीहरुप्रति बढेको बितृष्णाले जनता फेरिएको बुझ्न सकिनेछ ।